थानकोट डिपोमा ५२ सय किलोलिटर पेट्रोल स्टक, ‘एक साता माग धान्छ’- निगम
थानकोट ।
चाडबाड नजिकिँदै गर्दा आपूर्ति प्रणालीमै असर पुर्याउने गरी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले इन्धन ढुवानीमा अवरोध गरेका छन् । ढुवानी भाडा समायोजनको माग गर्दै उनीहरूले आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्न प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) उठाएनन् । ढुवानी व्यवसायी आइतबार भारत जान पीडीओ लिन नआएको नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले जनाए ।
‘प्रतिदिन २ हजार किलोलिटर पेट्रोल र १५ सय किलोलिटर डिजेल (पेट्रोलियम पाइपलाइनबाट ढुवानीबाहेक) को पीडीओ जारी हुन्छ,’ गोइतले भने, ‘तर, आइतबार भारतबाट ढुवानीका लागि व्यवसायी पीडीओ लिन आएनन् । अहिले आन्तरिक ढुवानी रोकिएको छैन, माग सम्बोधन नभए असोज १ देखि आन्तरिक ढुवानी पनि रोक्ने चेतावनी दिएका छन् ।’ ०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा २५ वटा क्षेत्रमध्ये एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवालाई अत्यावश्यक वस्तुको सूचीमा राखिएको छ । अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन ०१७ अनुसार अत्यावश्यक वस्तु आपूर्तिमा बन्द–हडताल गर्न पाइँदैन । तर, ऐनविपरीत देशभरका पीडीओ नउठाउँदा सरकार मौन बसेको छ ।
काठमाडौंको थानकोट डिपोमा ५२ सय किलोलिटर पेट्रोल रहेको डिपो प्रमुख शैलेन्द्र भुसालले जनाए । यसले करिब एक साता धान्छ ।
सरकारले असोज १ गतेदेखि यातायातको टिकट बुकिङ खुल्ला गरेकाले त्यसपछि इन्धनको माग बढ्न सक्ने उनको भनाइ छ । ‘इन्धन ढुवानी बन्द गरेर जनतालाई दुःख दिनु राम्रो होइन,’ उनले भने । यता नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालले भने ढुवानी बन्द नभएर आफूहरूले निगमसमक्ष आत्मसमर्पण गरेको दाबी गरे । ‘ढुवानी खर्च बढेर ट्यांकर भारत पठाउन नसकेका हौं, हामीले आन्दोलन गरेका होइनौं,’ उनले भने । ढुवानीमा लाग्ने टोल र सवारीको टायर मर्मत खर्च बढेको उनको दाबी छ, इकान्तिपुरमा खबर छ । निगमका अनुसार करिब १८ सय ५६ ट्यांकरबाट इन्धन ढुवानी हुन्छ । निगमसँग ट्यांकर र चालक नहुँदा समयसमयमा ढुवानीमा समस्या हुने गरेको छ ।