दशैंको मुखमा इन्धनको हाहाकार बनाउने प्रपञ्च

Thankot Times

थानकोट ।

अत्यावश्यक वस्तु तथा सेवा अवरुद्ध गर्न नपाइने कानुनी व्यवस्थाविपरीत पेट्रोलियम ढुवानी व्यवसायीले इन्धन आपूर्ति रोक्न थालेका छन् । आर्थिक संकटमा रहेको नेपाल आयल निगमले ढुवानी भाडा वृद्धि गर्नुपर्ने उनीहरूको माग छ । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा वृद्धि नभए २४ भदौबाट तेल आयात गर्न ट्यांकर भारत नपठाउने चेतावनी दिएको थियो । सोहीअनुसार उनीहरूले निगमका अधिकांश डिपोसँग करारमा रहेका ट्यांकरलाई शुक्रबार तेल लिन भारत पठाएनन् ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ ले इन्धनलाई पनि अत्यावश्यक वस्तुमा सूचीकृत गरेको छ । जसअनुसार पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणमा हडताल गर्न निषेध गरिएको छ । हडताल गरेमा ६ महिनासम्म कैदको व्यवस्था छ । घाटामा गइरहेको निगमको जर्जर आर्थिक अवस्थाका कारण भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा उपभोक्ता मूल्य निगमले घटाएको छैन । तर, इन्धन व्यवसायीहरूले भने ढुवानी भाडा वृद्धिको माग राख्दै आन्दोलनको चेतावनी दिइरहेका छन् ।

सबैभन्दा धेरै इन्धन खपत हुने काठमाडौंस्थित आयल निगमको थानकोट डिपोबाट शुक्रबार भारतका लागि कुनै पनि ट्यांकर तेल लिन गएका छैनन् । त्यस्तै, दोस्रो ठूलो अमलेखगन्ज डिपोबाट दैनिक २० ट्यांकरसम्म पेट्रोल लिन भारतको बरौनी रिफाइनरी जाने गरेकोमा शुक्रबार १७ ट्यांकरले मात्रै खरिद आदेश लिएका छन् । तर, ती ट्यांकर भारत गए–नगएकोबारे निगमलाई व्यवसायीले खबर गरेका छैनन् । प्रदेश नम्बर १ मा इन्धन आपूर्ति गर्दै आएको निगमको विराटनगर डिपोबाट दैनिक १६–१७ ट्यांकर पेट्रोल लिन जान्छन् आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *