थानकोट-चित्लाङ सडकको ढुंगाका कारण मकवानपुरमा रोचक बन्दै चुनावी माहोल

Thankot Times

थानकोट ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुरमा एउटा रोचक भिडन्तको सम्भावना बढेको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनमा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाको सम्भावना बलियो छ । उनको प्रतिद्वन्द्वीका रूपमा नेकपा एमालेका बागमती प्रदेश कमिटी उपमहासचिव युवानेता महेश बर्तौंला उभिने लगभग पक्का छ । खतिवडा र बर्तौंला दुवैले निर्वाचन क्षेत्रमा आफ्नो गतिविधि बढाएका छन् ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार खतिवडा एमालेमा थिए । हाल उनी पार्टी विभाजनसँगै नेकपा (एकीकृत समाजवादी)मा छन् । यसअघि खतिवडालाई निर्वाचन जिताउन घुँडा धसेर लागेका उनै बर्तौंला आगामी निर्वाचनमा एकअर्काको प्रतिद्वन्द्वीका रूपमा खडा हुँदैछन् । खतिवडालाई नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटीले प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि उम्मेदवार सिफारिस गरिसकेको छ ।

एमालेबाट बर्तौंलासहित संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी र बुद्धरत्न मानन्धर सिफारिस भएका छन् । यी तीन जनामध्ये पार्टीले युवा उम्मेदवार भएकाले बर्तौंलालाई टिकट दिने सम्भावना बढी छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उठ्ने तयारी गरेका एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर रानाको नाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नाम सिफारिस भएको छ । बर्तौंलालाई सहजै उम्मेदवार बनाउन रानालाई १ नम्बर क्षेत्रबाट सिफारिस गरिएको चर्चा छ ।

एमालेबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि सिफारिस भएका ठकुरी पूर्वाधार विकास कम्पनीको आयोजना हेटौँडा–कुलेखानी–काठमाडौं सुरुङमार्गमा जिल्लावासीको करिब ३० करोड शेयर फसेको प्रकरणका दोषी हुन् । उनीमाथि निर्माणाधीन चित्लाङ–थानकोट सडक निर्माणका क्रममा ढुंगा बिक्री गर्न चलखेल गरेको आरोप पनि छ । ठकुरीका कमजोर पक्षबारे पार्टी शीर्ष नेतृत्वमा जानकारी पुगेकाले उनी उम्मेदवार हुने सम्भावना कम रहेको एमालेका जिल्ला नेताहरू बताउँछन् । सिफारिस भएका मानन्धरको पनि सम्भावना न्यून छ ।

एमालेले देशभर युवा उम्मेदवारलाई प्राथमिकता दिने नीति लिइरहँदा बर्तौंलाको सम्भावना बढेको छ । अन्ततः गठबन्धनबाट खतिवडा र एमालेबाट बर्तौंलाको भिडन्त हुने देखिन्छ । खतिवडा र बर्तौंला राजनीतिका गुरुचेला हुन् ।

अझै रोचक त अहिलेसम्म लडेका निर्वाचन नहारेका खतिवडा भर्सेज पहिलोपटक निर्वाचनमा सहभागी हुन लागेका बर्तौंलाको भिडन्त हो । खतिवडाले मकवानपुरबाट २०४८, ०५१, ०५६ र ०७४ मा गरी चारपटक प्रत्यक्ष निर्वाचन जितिसकेका छन् । उनले २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभा–व्यवस्थापिका संसद्को चुनावमा भने भाग लिएनन् । उनलाई पार्टीले टिकट दिएको थिएन ।

खतिवडाले सबै निर्वाचन एमालेमा रहँदा जितेका हुन् । उनले आगामी निर्वाचन एमालेबाटै विभाजित भएको पार्टीबाट लड्दै गरेकाले उनको नयाँ परीक्षासमेत हुनेछ । विगतमा जस्तो खतिवडाको पछाडि निर्वाचनका ‘सेना’हरू छैनन् । उनलाई निर्वाचन जिताउन यसअघि सिंगो एमाले मकवानपुर लाग्थ्यो । अहिले नेकपा (एकीकृत समाजवादी)सँग थोरै जनमत भएकाले उनी सीमित संख्याको टिम बोकेर गाउँ डुलिरहेका छन् ।

जसका कारण खतिवडालाई आगामी निर्वाचन पहिलाको जस्तो सहज नहुने देखिन्छ । उनलाई गठबन्धनकै नेकपा (माओवादी केन्द्र)ले पनि काउन्टर दिइरहेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रामनारायण बिडारीले प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट कुनै हालतमा निर्वाचन लड्ने बताउँदै आएका छन् । बिडारीले माओवादी सँधै पछाडि नबस्ने भन्दै आगामी निर्वाचनमा एउटा प्रतिनिधिसभा क्षेत्र लिने र जसको उम्मेदवार २ नम्बर क्षेत्रबाट आफू हुने सार्वजनिक रूपमै बताएका छन् ।

शिलापत्र


Leave a Reply

Your email address will not be published. Required fields are marked *