एक वर्षमा चन्द्रागिरि केबलकारले चन्द्रागिरि नगरलाई बुझायो ५० लाख १२ हजार राजश्व

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले पहिलोपटक वार्षिक समिक्षा कार्यक्रम आयोजना गरेको छ । शुक्रबार नगरका विभिन्न विषयगत शाखाहरूका प्रमुखहरूले जनप्रतिनिधि तथा नगरका कर्मचारीहरूको उपस्थितिमा समिक्षा कार्यक्रम आयोजना गरि वार्षिक कार्य प्रगति सार्वजनिक गरेका हुन् । कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा नगर सभासदस्यहरूको उपस्थिति रहेको थियो ।

सो क्रममा नगरका राजश्व शाखा, आर्थिक विकास शाखा, आर्थिक प्रशासन शाखा, वातावरण तथा विपद् व्यवस्थापन शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, प्रशासन शाखा, स्वास्थ्य शाखा, पशु सेवा शाखा, कृषि विकास शाखा, सामाजिक सुरक्षा शाखा, योजना शाखा, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, कानुन शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम, पूर्वाधार विकास तथा वातावरण शाखा तथा आयुर्वेद औषधालय शाखाले वर्षदिनमा गरेका कार्य प्रगति विवरण सार्वजनिक गरेका थिए ।

आर्थिक वर्ष २०७८/७९ मा चन्द्रागिरि हिल्सले केबलकार टिकट शुल्कको राजश्व बापत चन्द्रागिरि नगरपालिकालाई ५० लाख १२ हजार ५ सय ५४ रूपैयाँ ८० पैसा राजश्व बुझाएको छ नगरको राजश्व शाखाले जनाएको छ । आन्तरिक तर्फ नगरले गत वर्ष २१ करोड ६८ लाख ७९ हजार २ सय ३० रूपैयाँ ७४ पैसा राजश्व संकलन गरेको छ भने वडागत रूपमा चन्द्रागिरि १५ ले वर्षभरिमा विभिन्न शीर्षकमा २ करोड २४ लाख २० हजार सात सय ५९ रूपैयाँ ६६ पैसा राजश्व संकलन गरेको छ ।

नगरको पुर्वाधार विकास तथा वातावरण शाखाले वर्षभरिमा नगर क्षेत्रमा ३.०२ किलोमिटर सडक कालोपत्रे (पिच) भएको विवरण सार्वजनिक गरेको छ । सो अवधिभित्र १६.४६ किलोमिटर सडक ढलान भएको छ । उज्यालो चन्द्रागिरि अभियान अन्तरगत नगर क्षेत्रमा करिब ४ हजार वटा विद्युतीय बत्ति जडान गरिएको शाखाको प्रगति विवरणमा उल्लेख छ । यस्तै, नगरमा आ.व. २०७८/७९ मा १ हजार २४७ वटा संरचनाको नक्शा पास भएको बताइएको छ ।

चन्द्रागिरि नगरपालिकास्थित प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा नगरका २ सय ३२ जनाले बेरोजगार सूचीमा सूचिकृत हुन नाम लेखाएका छन् ।

नगरको कानुन शाखाले वर्षदिनमा नगरमा सबैभन्दा धेरै साँध सिमानाका विवाद दर्ता भएको जनाएको छ । सो शाखाका अनुसार वर्षभरिमा ५० वटा उजुरी प्राप्त भएकामा ३८ वटा उजुरी साँध सिमानाका बारेमा थिए ।

नगरको आर्थिक विकास शाखाका अनुसार गत वर्ष १७ वटा नयाँ सहकारीले स्थापनाका लागि नगरमा दर्ता भएका छन् । सो शाखाको गत आ.व.मा सम्पादन भएका मुख्य कार्यहरूको सूचीमा ३ दिन नगरपालिकाको बजार अनुगमन गरिएको विषयले पनि ठाउँ पाएको छ ।

चन्द्रागिरि नगरको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले नगरमा गतवर्ष १ हजार ९ सय ४७ जनाले बसाँइसराई दर्ता गराएको प्रतिवेदन पेश गरेको छ । सो शाखाका अनुसार विभिन्न शीर्षकका समाजिक सुरक्षा भत्ता बापत चन्द्रागिरि नगरमा गत आ.व.मा कुल १७ करोड १८ लाख २७ हजार ६ सय ७ रूपैयाँ वितरण गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाको योजना शाखाले पेश गरेको प्रगति विवरण अनुसार गत आ.व.मा नगरमा ९ सय ४१ योजनाहरू सम्पन्न हुँदा ७१ करोड ९७ लाख पाँच हजार ६ सय ६१ रूपैयाँ बजेट खर्च भएको छ ।

यस्तै, चन्द्रागिरि नगरमा गत आ.व.मा ६८ वटा गैर नाफामुलक सामाजिक संघसंस्था दर्ता भएको नगरको सामाजिक शाखाले जानकारी दिएको छ ।

शुक्रबार चन्द्रागिरि नगर कार्यपालिकाको सभा हलमा नगरको पशु सेवा शाखाले प्रस्तुत गरेको प्रगति विवरणमा वर्षभरीमा नगर क्षेत्रका किसानहरूका लागि विभिन्न प्रजातिका ३ हजार केसी घाँसको बिउ वितरण गरेको विवरण पनि समावेश भएको छ ।

स्वास्थ्य शाखाको आ.व. २०७८/७९ मा सम्पादन भएका कार्य विवरण अनुसार चन्द्रागिरि नगरपालिकाको प्राथमिक अस्पताल थानकोटमा ८३ जना महिलाले सुत्केरी सेवा लिएको विषय समावेश गरेको छ । यस्तै, सो शाखाका अनुसार नगर क्षेत्रका कुल २८ हजार ७६ जना विद्यार्थीले टाइफाइड विरूद्धको खोप लिएका छन्।

कोरोना भाइरस विरूद्धको बुस्टर डोज लगाउनेको संख्या भने चन्द्रागिरि नगरमा पहिलो र दोश्रो डोज लगाउनेको तुलनमा एक तिहाईले कमी रहेको प्रतिवेदन नगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ । गत आ.व.मा चन्द्रागिरि नगरमा कोरोना भाइरस विरूद्धको पहिलो मात्रा खोप लगाउने १ लाख २९ हजार ८ सय ५० जना, दोश्रो मात्राको खोप लगाउने १ लाख २ हजार ८ सय ७६ जना तथा बुस्टर डोज खोप लगाउनेको संख्या ३१ हजार ८ सय ७७ जनामा मात्रै रहेको बताइएको छ ।

चन्द्रागिरि नगरपालिकाको सामान्य प्रशासन शाखाका अनुसार नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमुल्याकंन (लीजा) मा समग्रमा ५९.५ अंक पाएको जनाएको छ जुन अघिल्लो आ.व.मामा ५३.२५ थियो ।

हाल नगर तथा वडा कार्यालयहरूमा अधिकृतस्तरका ४६ सहित कुल १७७ जना कर्मचारी कार्यरत छन् । सो शाखाका अनुसार गत आ.व.मा चन्द्रागिरि नगरसँग सम्बन्धित कुल ३७ उजुरीहरू मध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा ३५ उजुरी परेको छ सो मध्ये २४ उजुरीमाथि सम्बोधन भइसकेको छ ।

नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार आ.व. २०७८/७९ मा नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरूमा कुल ३० हजार ३ सय ८३ जना विद्यार्थीहरू अध्ययनरत थिए।

चन्द्रागिरि नगरको वातावरण तथा विपद् व्यवस्थापन शाखाले गत आ.व.मा विभिन्न कार्यक्रमहरूका लागि १ करोड ६१ हजार ६ सय २४ रूपैयाँ खर्च भएको जनाएको  छ।

चन्द्रागिरि नगरका विभिन्न विषयगत शाखाहरूले थानकोट टाइम्सलाई उपलब्ध गराएका वार्षिक प्रगति विवरणका सारंशमाथि आधारित भएर तयार  पारिएको सामाग्री


Leave a Reply

Your email address will not be published. Required fields are marked *