मच्छेगाउँमा लाखे नाच प्रदर्शनी आजबाट, ४२ समुहको सहभागिता
थानकोट ।
चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँमा वर्षेनी आयोजना हुने लाखे नाच प्रदर्शनी आज सुरू हुँदैछ । नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा हुने प्रदर्शनीमा देशभरबाट लाखे नाच समुहहरूले सहभागिता जनाउने बताइएको छ ।
आयोजक नेपाल साँस्कृतिक कला मन्दिरका अनुसार लाखे नाच प्रदर्शनीका लागि भक्तपुर, भोजपुर, खोटाङ, धादिङ, नुवाकोट, रामेछाप, दोलाखा, ललितपुर, कास्की, ताप्लेजुङ, ओखलढुङ्गा, मकवानपुर लगायतका जिल्लाका ४२ समुहले सहभागिताका लागि नाम दर्ता गराएका छन् ।
“चिनौ हाम्रो संस्कृति आफ्नो ठाउँको मौलिकता, कला संस्कृति साटासाट गरौं” नाराका साथ यसपटक लाखे प्रदर्शनी कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले जानकारी दिनुभयो ।
आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको अध्यक्ष शाहीले बताउनुभयो । संघीय सांसद् राजेन्द्रकुमार केसीले कार्यक्रमको उद्घाटन गर्ने तालिका रहेको बताइएको छ ।
प्रदर्शनी शनिबार सकिनेछ ।