चन्द्रागिरि ७ स्थित महांकाल वनमा मृत भेटिए संजय
थानकोट ।
नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेको जनाएको छ । काठमाडौं, बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित बबरकोट स्नोकर कर्नर सेकुवामा काम गरी बस्ने २९ वर्षीय प्रताप तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी चन्द्रागिरि नगरपालिका-७ महांकाल सामुदायिक वनमा सिन्धुपाल्चोक चौतारा नगरपालिका-८ घर भई काठमाडौं कलंकी बस्ने ३३ वर्षीय संजय लामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । उता सल्यान, बागचौर नगरपालिका-४ लौराबाङ बस्ने ७२ वर्षीय हरि बहादुर पुन सोही नगरपालिका-५ नाउलस्थित शारदा नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै पर्वत, पैयुँ गाउँपालिका-३ अर्थुङस्थित खोचमा सोही गाउँपालिका-३ डाथोक बस्ने ७६ वर्षीय नेत्र प्रसाद बसेल मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै कैलाली, मोहन्याल गाउँपालिका-६ तिउली खोलास्थित कर्णाली नदीको किनारामा सुर्खेत चौकुने गाउँपालिका-३ बस्ने ३५ वर्षीय टेक बहादुर नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यता अछाम, पञ्चदेवल विनायक नगरपालिका-२ विनायकस्थित सडकको किनारामा सोही ठाउँ बस्ने २५ वर्षीय बम बहादुर धामी मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।