अफगानिस्तान एसिया कपको सुपर फोरमा

थानकोट ।
अफगानिस्तान यूएईमा भइरहेको एसिया कप क्रिकेटको सुपर फोचमा पुग्ने पहिलो टिम बनेको छ ।
समूह ‘बी’ अन्तर्गत मंगलबार सारजहामा भएको आफ्नो अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो ।
समूहमा लगातार दोस्रो जित निकालेको अफगानिस्तान अपराजित रहेर सुपर फोरमा पुगेको हो । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गरेको थियो ।
अब श्रीलंका र बंगलादेशबीद्बको विजेता टिम सुपर फोरमा पुग्नेछ । बंगलादेशले दिएको १२८ रनको लक्ष्य अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
अफगानिस्तानका लागि नाजिबुल्लाह जद्रानले आक्रमक ब्याटिङ गर्दै अविजित ४३ रन बनाए । उनले १७ बल खेल्दै एक चौका र ६ छक्का प्रहार गरे ।
यस्तै इब्राहिम जद्रानले ४१ बल खेल्दै चार चौका मद्दतमा अविजित ४२ रन जोडे । हज्रातुल्लाह जाजईले २३ रन बनाए ।
बंगलादेशका लागि शकिब अल हसन, मोसादेक होसेन र मोहम्मद साइफुदिनले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
बंगलादेशका लागि मोसादेक होसेनले ३१ बल खेल्दै चार चौका र उक छक्का मद्दतमा अविजित ४८ रन बनाए । महमुदुल्लाहले २५ रन जोडे । अफगानिस्तानका मुजिब उर रहमान र रासिद खानले तीन/तीन विकेट लिए । चार ओभर बलिङ गर्दा मुजिवले १६ र रासिदले २२ रन खर्चिए ।
एसिया कपमा आज भारत र हङकङबीच खेल हुँदैछ । पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत आजको खेल जित्दै सुपर फोरमा पुग्ने लक्ष्यमा छ ।