१ करोड ५८ लाख रूपैयाँमा चन्द्रागिरि नगरमा बन्यो पशु सेवा केन्द्र, पशु चिकित्सकको व्यवस्था छिट्टै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका- १२ बलम्बुमा निर्माण भएको पशु सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ । मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले एक कार्यक्रमका बीच सो केन्द्रको उद्घाटन गर्नुभएको हो ।

एशियाली विकास बैंकको सहुलियत ऋणमा नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनाले मुलुकभरका स्थानीय तहमा निर्माण गरेका २८ मध्ये एक सेवा केन्द्रको चन्द्रागिरि नगरमा निर्माण भएको सो आयोजनाका निर्देशक उमेश ढकालले जानकारी दिनुभयो । सो केन्द्रमा अब पशु खोप सेवा, खोप भण्डारण सेवा, पोष्टमर्टन सेवा, प्रयोगशाला सेवा तथा बायो पिट सेवा उपलब्ध हुने बताइएको छ । अन्य स्थानीय तहमा निर्माण भएका मध्ये चन्द्रागिरिमा फरक ढाँचामा पशु सेवा केन्द्र निर्रमाण भएको निर्देशक ढकालले जानकारी दिनुभयो । भाैगोलिक अवस्थितिका कारण चन्द्रागिरि नगरमा बहुतल्ले भवन निर्माण भएको हो भने अन्यत्र एक तल्ले भवन निर्माण भएका छन् ।

कूल १ करोड ५८ लाख ६४ हजार ५८ रूपैयाँ लागतमा निर्माण भएको सेवा केन्द्रबाट स्थानीय कृषकहरूका अतिरिक्त छिमेकी पालिकाका सेवाग्राहीहरू समेत लाभान्वित हुने अपेक्षा राखेको केन्द्रका प्रमुख बद्रि पाैडेलले कार्यक्रमा जानकारी दिनुभयो ।

पशु सेवा केन्द्रको भवन उद्घाटन कार्यक्रम बोल्नुहुँदै चन्द्रागिरि नगरपालिका उपप्रमुख बसन्ती श्रेष्ठले नगर क्षेत्रमा रहेका छाडा चाैपायाहरूको व्यवस्थापनका लागि नगरले बजेट विनियोजन गरेको बताउनुहुँदै वास्तविक किसानले अनुदान नपाएको विषयलाई गम्भीरताका साथ लिइएको बताउनुभयो ।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख घनश्याम गिरीले नगर क्षेत्रका तथा छिमेकी पालिकाका कृषकहरूले पशु उपचारसम्बन्धी आधारभूत सेवा लिन अब अन्यत्र जान पर्ने बाध्यताको अन्त्य भएको बताउनु हुँदै सो केन्द्रमा पशु चिकित्सकको दरबन्दी स्वीकृत भइ कर्मचारी व्यवस्थापन छिटै गरिने जानकारी दिनुभयो । सो क्रममा नगरप्रमुख गिरीले कृषकहरूले पशु बिमा गर्दा संघ सरकारले ८० प्रतिशत व्यहोर्ने र नगरपालिकाले २० प्रतिशत लागत व्यहोर्ने बताउनुहुँदै सबै कृषकहरूमा पशुधन अनिवार्य रूपमा बीमा गर्न अनुरोध गर्नुभयो ।

चन्द्रागिरि नगरको पशु सेवा केन्द्रको उद्घाटनपछि कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले कृषिमा आत्मनिर्भर तथा आयात प्रतिस्थापनका लागि यसवर्ष सरकारले १० अर्ब रूपैयाँ बजेट छुट्याएको जानकारी दिनु हुँदै प्रदेश तथा स्थानीय सरकारले कृषि अनुदानको सही उपयोग भएको नभएको कडाइका साथ अनुगमन गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दिपक कुमार खरालले देशको आर्थिक गतिविधिमा कृषि तथा पशु क्षेत्रको योगदान उच्च रहेको बताउनुहुँदै चन्द्रागिरि नगरमा निर्माण भएको पशु सेवा केन्द्रलाई नमुना केन्द्रका रूपमा विकास गर्न मन्त्रालय सदैव तयार रहेको जानकारी दिनुभयो । सो क्रममा सचिव डा. खरालले छाडा पशु व्यवस्थापनका लागि गैर सरकारी संस्थाहरूसँग समन्वय गर्न स्थानीय निकायहरूले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई अगुवा कृषकहरूका तर्फबाट सम्बोधन गर्नुहुँदै युवा कृषक ईश्वर बलामीले सरकारले एकातिर कृषकहरू समस्यामा रहेको बताउने गरेको र अर्कातिर सो को समाधानको लागि नीति बनाउने तर कार्यान्वयन नगर्ने दोधारे चरित्र अवलम्वन गरेको आरोप लगाउनु भयो । संघ, प्रदेश र स्थानीय सरकारहरूले कृषि नीति बनाउँदा कृषकहरूका तर्फबाट सुझाव लिँदा थप प्रभावकारी नीति बन्न सक्ने धारणा राख्दै युवा कृषक बलामीले कृषि उत्पादनको मूल्यमा नभई लागत न्यूनिकरणमा ध्यान दिन सरोकारवालाहरूसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरका विभिन्न वडाका जनप्रतिनिधिहरू, कर्मचारी लगायत अगुवा कृषकहरूको बाक्लो उपस्थिति रहेको थियो । सो क्रममा नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनाले चन्द्रागिरि नगरपालिकालाई पशु सेवा केन्द्रको भवन हस्तान्तरण समेत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *