दोलखाको एम्बुलेन्स चन्द्रागिरिमा, संचालक भन्छन् उता सञ्चालन गर्न सकेनाैं त्यसैले शहर ल्यायाैं
थानकोट ।
दोलखाको शैलुङ गाउँपालिका–८ का स्थानीयका लागि किनिएको एम्बुलेन्स काठमाडौंमा सञ्चालनमा भइरहेको पाइएको छ ।
२०७३ सालमा प्रतापसिं स्मृति प्रतिष्ठानले राजस्व छुटमा ल्याएको ज१च १५३४ नम्बरको एम्बुलेन्स अहिले चन्द्रागिरि नगरपालिकामा सञ्चालनमा छ ।
शैलुङ गाउँपालिकामा एउटा मात्रै एम्बुलेन्स भएकाले कोही बिरामी पर्दा चर्को शुल्क तिरेर निजी गाडीमा अस्पताल पुर्याउनुपर्ने अवस्था छ ।
२०७८ पुसमा मोटरसाइकल दुर्घटनामा परेका मोहन थपलियाले गाउँका लागि ल्याइएको एम्बुलेन्स सहर लगिएपछि आफू १४ हजार भाडा तिरेर निजी गाडीमार्फत अस्पताल पुग्नुपरेको सुनाए इकान्तिपुरमा खबर छ। ‘मसँगै दुर्घटनामा परेका डम्बरबहादुर थपलियाको त मृत्यु नै भएको थियो,’ उनले भने, ‘एम्बुलेन्स नहुँदा यहाँका बासिन्दा निजी गाडीलाई २० हजारसम्म तिर्न बाध्य छन् ।’
ग्रामीण भेगका बिरामीलाई सहुलियत दरमा बोक्ने भनी राजस्व छुटमा ल्याइएको एम्बुलेन्स प्रतिष्ठानले नै चन्द्रगिरिमा सञ्चालन गरिरहेको स्थानीय मोहनसिं तामाङ बताउँछन् । ‘यसबारे आवाज उठाए पनि अझै फर्काइएको छैन्,’ उनले भने, ‘एम्बुलेन्स खरिद गरेर ल्याइएको २५ महिनासम्म गुपचुपमै राखियो ।’
स्थानीय ठालु तामाङले आफ्ना हजुरबुबाको नाममा प्रतिष्ठान खोलेका थिए । प्रतिष्ठानका अध्यक्ष भैरव काफ्लेले भने जिल्ला प्रशासनको अनुमतिमा चन्द्रागिरि नगरपालिकामा एम्बुलेन्स सञ्चालन गरेको दाबी गरे ।
‘गाउँमा टिप नपुगेर चालकको तलबभत्तासमेत दिन सकिएन,’ उनले भने, ‘गाउँमा सञ्चालन गर्न समस्या भएपछि प्रशासनकै अनुमतिमा बाहिर चलाएका हौं ।’ गाउँमा एम्बुलेन्स नहुँदा सबैभन्दा बढी गर्भवती र सुत्केरी मर्कामा परेका छन् ।