विप्लव समूहका काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरीलाई स्थानीयले लछारपछार गर्दै कुटे । प्रहरीले पनि तिनलाई चुट्यो । तर बन्दकर्ता भन्ठानेर विद्यार्थीलाई पनि मरणासन्न हुनेगरी कुटेको स्थानीय सञ्चारकर्मीले अनलाइनखबरलाई बताएका छन् ।
पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाका अनुसार अहिले पनि तीमध्ये कतिपय विद्यार्थी विप्लव समूहका कार्यकर्तासँगै प्रहरीको नियन्त्रणमा छन् । ‘नीलडाम बस्नेगरी धेरै चुट्यो पुलिसले, छात्राहरुलाई कुट्न पुरुष पुलिसहरु धेरै आए,’ तिमल्सिनाले भने । पत्रकारहरुका अनुसार उनीहरु विप्लव समूहका कार्यकर्ता होइनन् । उनीहरुलाई झुक्याएर बन्द अवरोधका कार्यक्रममा लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार मंगलबार बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । कुटाइ खानेमध्ये प्रमोद गिरी र पल राउत विप्लव समूहकै कार्यकर्ता हुन् ।
सडकमा देखिएका मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि राउत भागेर पनौती जाने बाटोतर्फ गएका थिए । त्यही बेला उनले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । पछि प्रहरीले उनीहरुबाट छुटाएर राउतलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
एसएसपी जोशीका अनुसार ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । अहिले जिल्लाको अवस्था सामान्य छ ।
अनलाइनखबरबाट ।