विज्ञापन बोर्डको सूचनाले सहकारीबाट पैसा झिक्नेहरू बढे
थानकोट ।
केहि दिन अगाडी विज्ञापन बोर्डले एउटा सूचना निकाल्यो । सूचनाको आशय सहकारीमा बचत गर्दा ध्यान दिऔं भन्ने थियो । दिनैपिच्छे सहकारीहरु भागिरहेका बेला बोर्डको सूचनाले बचतकर्ताहरु झन् त्राहिमाम बने । एक त सहकारी भागेको भाग्यै गरेका खबरहरु दिनानुदिन आईरहेका बेला विज्ञापन बोर्डले निकालेको यस्तो सूचनाले सहकारी सुरक्षित छैनन् भन्ने आशय दिएको थियो ।
त्यसपछि सहकारीबाट पैसा झिक्नेहरु अचम्मको तरिकाले बढे । पैसा निकाल्नेहरु भन्थे -‘सरकारले नै सहकारीमा पैसा राख्न रिस्की भयो भन्ने आशय दिईसक्यो, अव सहकारीमा पैसा राखेर काम छैन ।विज्ञापन बोर्डले जारी गरेको सूचनामा लेखिएको थियो- ‘सहकारी लगायत वित्तीय संस्थामा रकम जम्मा गर्दै हुनुहुन्छ ? यदी त्यसो हो भने, त्यस्ता संस्थाको वित्तीय विश्वसनीयताको परिक्षण गर्न नबिर्सौं, बढी ब्याजको लोभमा नफसौँ, ब्याजको लोभमा साँवासमेत नगुमाऔँ ।’ यो सरकारी सूचनापछि धेरैलाई लाग्यो-‘सहकारी त साँच्चै लुट्नकै लागि खोलिएको हुँदोरहेछ, सहकारी त ठग नै हुनेरहेछन् ।
सहकारीमा पैसा राख्नु त निकै जोखिमको काम रहेछ । अव सरकारी निकायले नै भनेपछि कसरी सहकारीमा पैसा राख्नु ?’
विज्ञापन बोर्डले निकालेको सूचना भुसको आगोसरी फैलिएपछि सहकारीमा बचतकर्ताहरु पैसा झिक्न आउने क्रम बढ्यो । यसै पनि अहिले धेरै सहकारीहरु भनेजति पैसा तिर्न सक्ने अवस्थामा छैनन् । विज्ञापन बोर्डले नै यस्तो सूचना निकालेपछि आत्तिएका सहकारीका संचालकहरुले विज्ञापन बोर्डमा सूचना सच्याउन दबाब दिन थाले ।
त्यहि सूचनाको ‘ह्याङ्गओभर’का कारण अहिले पनि सहकारीबाट पैसा झिक्नेहरु बढेका छन् ।