चन्द्रागिरि नगर क्षेत्रमा यातायात आवागमन सामान्य अवस्थामा, अधिकांश संस्थागत विद्यालयहरू भने बन्द
थानकोट ।
मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीको आह्वानमा भएको बन्दको असर काठमाण्डाै जिल्लाको पश्चिम क्षेत्रमा खासै देखिएको छैन् ।
राजधानी भित्रने मुख्य सडक मार्ग नागढुङ्गा नाकामा साबिककै अवस्थामा सवारी साधनहरू सञ्चालन भइरहेको नागढुङ्गा ट्राफिक कार्यालयका प्रमुख टपेन्द्र बहादुर खत्रीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
यस्तै थानकोट ट्राफिक कार्यालयका प्रमुख महेन्द्रविक्रम शाहीका अनुसार सो क्षेत्रको यातायात सञ्चालन साबिककै अवस्थामा भइरहेको छ भने मुख्य मुख्य चोकहरूमा सवारी चेकजाँच भइरहेको छ ।
प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेका अनुसार नागढुङ्गा, थानकोट, चेकपोष्ट, गुर्जुधारा, सतुंगल, नैकाप लगायतका मुख्य मुख्य चोकहरूमा प्रहरीको तैनाथी साबिककै रूपमा भएको छ भने जनजीवन सामान्य छ ।
यसैबीच चन्द्रागिरि नगरका अधिकांश संस्थागत विद्यालयहरूले मंगलबार भाैतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकिएको जानकारी दिएका छन् । केही विद्यालयले अनलाइन कक्षा सञ्चालन हुने बताएका छन् ।
सरकारले एमसिसी सम्झौता गरेको र विप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यान्वयन नभएको विरोध लगायतमा उनीहरूले बन्द आह्वान गरेका थिए।
फाइल फोटो