स्थानीय चुनावमा म्यादी प्रहरीः तलब ९८ हजारसम्म, २५ लाखको बिमा
आगामी ३० वैशाखका लागि घोषित स्थानीय निर्वाचनका लागि तयार गरिएको ‘म्यादी प्रहरी भर्ना छनौट मापदण्ड–२०७८/२०७९’ को खाकामा म्यादी प्रहरी भर्ना गर्दा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने व्यवस्था राखिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार म्यादी प्रहरीको भर्ना प्रक्रिया सम्भवतः फागुन मध्य वा अन्तिमबाट सुरु हुनेछ । ‘यसपटक एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव गरेका छौं’ उहाँले भन्नुभयो ‘निर्वाचनमा नियमित जनशक्तिबाट मात्र सुरक्षा प्रदान गर्न पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।’
मापदण्डमा उल्लेख भएअनुसार म्यादी प्रहरीले प्रहरी जवानको सरह सुविधा पाउनेछन् । प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार ५० दिनमा उनीहरुको तलब ठाउँ अनुसार ५७ हजारदेखि ९८ हजार रुपैयाँसम्म हुनसक्छ ।
मापदण्ड अनुसार म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
म्यादी प्रहरीले पाउने सुविधाको ५० प्रतिशत रकम ३० दिन काम गरेपछि र बाँकी काम सकिएपछि भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।