काठमाडौं नगर प्रहरी प्रमुखमा राजु पाण्डे नियुक्त
थानकोट ।
काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुखमा परिवर्तन गरिएको छ । स्थापना कालदेखि नै नगरप्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिइएको हो ।
पाण्डेलाई नयाँ नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ । यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई प्रशासनतर्फको जिम्मेवारीमा खटाइएको छ ।
सापकोटालाई पूर्वमेयर विद्यासुन्दर शाक्यले नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए । काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक (एसपी) छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो ।