जसपामा उम्मेदवार बन्न २ वटा मापदण्ड र ७ योग्यता
थानकोट ।
सत्तारूढ दल जनता समाजवादी पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न २ वटा मापदण्ड र ७ योग्यता चाहिने प्रस्ताव गरेको छ।
जसपाको राजनीतिक समिति बैठकको प्रस्तावमा अध्यक्ष उपेन्द्र यादवले शुक्रबार मापदण्ड र योग्यताबारे प्रस्ताव गरेका हुन्।
उम्मेदवार बन्न मूल मापदण्ड पार्टी र समाजमा लोकप्रिय, सकृयता, सक्षमता, दक्षता, निष्पक्षता र निरन्तरता रहेको छ। यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको गहन अध्ययन र विश्लेषणबाट निर्क्योल गरिने बताइएको छ।
उम्मेदवारहरुको योग्यता सम्वन्धी मापदण्ड देहाय बमोजिम हुनेछ :
१) पार्टीको विचार निती, सिद्धान्त र कार्यक्रमलाई आत्मसाथ गर्ने ।
२) पार्टीको समितिमा संगठित र सकृय रहेको । ३) पार्टी र सामाजिक जनकार्यमा समर्पित हुने ।
४) स्वच्छ सामाजिक छवी तथा नैतिकवान भएको ।
५) निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको ।
६) सम्वन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको ।
(७) सुशासनको प्रत्याभुत गर्नसक्ने
यसैगरी, अध्यक्ष यादवले उम्मेदवार छनोटको प्रक्रिया समेत प्रस्ताव गरिएको छ। उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिले आवश्यक छलफल गरी योग्य उम्मदवारहरूका नामावली आ-आफ्नो जिल्ला समन्वय समितिलाई यही भदौ ११ गतेभित्र सिफारिस गर्नुपर्नेछ।
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिबाट सिफारिस भई आएका नामावलीमध्ये छलफल गरी जिल्ला समन्वय समितिले ५ जनासम्म उम्मेदवारहरुको नामावली माथिल्लो (प्रदेश) समितिलाई भदौ १६ गतेभित्र सिफारिस गर्नुपर्नेछ।
यस्तै प्रदेश समितिले जिल्ला समन्वय समितिबाट सिफारिस भई आएको नामावली उपर छलफल गरी ३ जना प्रस्तावित उम्मेदवारको नाम संसदीय बोर्डमा भदौ २० गते भित्र सिफारिस गरी पठाउनुपर्नेछ।
संसदीय बोर्डले प्रस्तावित भइआएका उम्मेदवारहरुको सम्बन्धमा आवश्यक छानबीन गरी यथाशिघ्र निर्णयका लागि भदौ २५ गते भित्र केन्द्रीय कार्यकारिणी समितिमा पठाउने।
उपरोक्त तहहरुमा उम्मेदवारहरुको नामावली सिफारिस गर्दा महिला उम्मेदवारहरुलाई समावेश हुने गरी समावेशितालाई समेत ध्यान पुरयाउनुपर्ने अध्यक्ष यादवले प्रस्ताव गरेका छन्।