शृंखलाबद्ध डकैती आरोपमा ३ पक्राउ

Thankot Times

थानकोट ।

काठमाण्डाै उपत्यकाका घरहरूमा पसेर परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुन चाँदीका गहना डकैतीमा सलंग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नयाँबस्ती पाटीटार बस्ने सिन्धुपाल्चोक मेलम्ची-७ तालामाराङका ३८ वर्षीय सागर भनिने रामसिंह तामाङ, जोरपाटी बस्ने मकवानपुर वाग्मती-८ का ३८ वर्षीय दिलबहादुर सिङतान र मकवानपुर बकैया-५ का ३५ वर्षीय सुशील भनिने बाबुलाल थिङ छन् ।

उनीहरुमाथि कीर्तिपुर-६ का नारायण बस्नेतको घरमा पसेर धारिलो हतियार देखाई नगद, सुन तथा हिराका गहना डाँका गरी लगेको आरोप छ । साथै उपत्यकाका ३ र उपत्यका बाहिर एक ठाउँमा डकैतीमा संलग्नता पुष्टि भएकाले उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू यसअघि पनि खुन डाँका, चोरी डाँका र कर्तव्यज्यान जस्ता मुद्दामा जेल सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानबाट खुल्न आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

साथबाट बरामद नगद १ लाख ४२ हजार १ सय ५ रूपैयाँ, २ वटा खुकुरी, एउटा मोटरसाइकलसहित उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कीर्तिपुर र बौद्ध पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *