चेकपोष्टमा खाजा घर संचालकमाथि फलामको पाइपले आक्रमण गर्ने युवाहरू पक्राउ
थानकोट ।
नेपाल प्रहरीले खाजाघरका संचालकमाथि फलामको पाइपले आक्रमण गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
काठमाण्डाै महानगरपालिका-५ का ३० वर्षीय सागर प्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका-५ का ३३ वर्षीय प्रमोद बोगटीमाथि चन्द्रागिरि -७ चेकपोष्टस्थित राजु खाजा घरका संचालक राजु केसीमाथि श्रावण २४ गते दिउँसो आक्रमण गरी सख्त घाइते बनाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले सार्वजनिक गरेको घटना विवरण अनुसार घटनामा घाइते राजु के.सी.ले सञ्चालन गरेको खाजा पसलमा आरोपित श्रेष्ठ र बोगटीले घटना भएको केही दिनअघि खाजा खाने क्रममा विवाद गरेको र सोही विवादका विषयलाई लिएर केसीमाथि आक्रमण गरि फरार भएका थिए । अपरिचित व्यक्तिहरूले टाउको लगायत शरीरका विभिन्न भागमा कुटेर भागेको भन्दै राजुकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन्।
मोटरसाइकलमा सवार दुई जना कलंकीबाट थानकोट आएको खुलेपछि प्रहरीले उनीहरूलाई फेला पारेको हो। पहिचान खुलेसँगै प्रहरीले शनिबार दिउँसो सागर प्रकाशलाई सानोभर्याङ र प्रमोदलाई बाफलबाट पक्राउ गरेको थियो । प्रहरीले आक्रमणमा संलग्न श्रेष्ठ र बोगटीको साथबाट घटनामा संलग्न हुँदा प्रयोग गरिएको मोटरसाइकल, पाइप लगायत समेत फेला पारेको जनाएको छ ।
आरोपितहरूले खाजाघर संचालक केसीको टाउको र खुट्टाका विभिन्न भागमा मोटरसाइकलको पुरानो सकर (पाइप) ले अन्धाधुन्दा प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
घटनामा संलग्न श्रेष्ठ र बोगटीमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को ज्यान मार्ने उद्योग कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
आक्रमणबाट गम्भिर घाइते भएका केसीको उपचार भइरहेको बताइएको छ।