नाफामा चन्द्रागिरि हिल्स

Thankot Times

थानकोट ।

चन्द्रागिरी हिल्स लिमिटेडले नाफामा गएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म चन्द्रागिरीले २ करोड ५५ लाख रुपैयाँ कमाएको हो।

कोभिडको असार कम हुँदै गएपछि आर्थिक क्रियाकलापमा क्रमशः सुधार हुँदै जाँदा कम्पनीको व्यापार व्यवसायमा वृद्धि भएको छ। पोहोर असार मसान्तसम्म कम्पनी २७ करोड २६ लाख रुपैयाँ नोक्सानीमा थियो। विशेषगरी पर्यटकिय गतिविधि चलायमान भएपछि कम्पनीको व्यवसाय बढेको हो।

आन्तरिकसाथै छिमेकी मुलुक भारतबाट आउने पर्यटकको संख्यामा भएको उल्लेख्य सुधारले कम्पनीलाई फाइदामा लगेको छ। पर्यटक आगमन दर बढेसँगै नोक्सानी नाफामा परिणत भएको हो। गत आर्थिक वर्षको अन्त्यसम्म चन्द्रागिरीले ६६ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीले सञ्चालन गरेका केवलकार, जिपलाइन, भ्यु टावरलगायत पर्यटकीय गतिविधिको प्रयोगबाट कम्पनीले आय आर्जन गर्ने गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको आम्दानी २०० प्रतिशतभन्दा माथि उक्लिएको छ। पोहोर असारमा कुल आम्दानी २२ करोड १९ लाख रुपैयाँमा सीमित थियो।

आम्दानीसँगै खर्चका आकार पनि बढेका छन्। कम्पनीको बिक्री लागत उल्लेख्यरूपमा बढेको छ। पोहोर असारमा ३ करोड २८ लाख रुपैयाँ रहेको लागत २२७ प्रतिशत बढेर १० करोड ७२ लाख रुपैयाँ पुगेको छ।

कर्मचारी र व्यवसाय संचालन बापतको खर्च पनि बढेका छन्। यी दुई शीर्षकमा गरेर कम्पनीले कुल १८ करोड २३ लाख खर्च गरेको छ। पोहोर यस्तो खर्च १२ करोड २९ लाख रुपैयाँमा सीमित थियो।

कम्पनी नाफामा गए लगत्तै प्रति सेयर आम्दानीमा पनि सुधार आएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म चन्द्रागिरी हिल्स लिमिटेडको प्रति सेयर आम्दानी १.६७ रुपैयाँ कायम छ। पोहोर असारमा कम्पनीको  प्रति सेयर १७.७८ रुपैयाँ नोक्सानीमा थियो।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ छ। कम्पनीको जगेडा कोष भने अझै ३९ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा छ। सो अवधिमा कम्पनीसँग ३ अर्ब रुपैयाँ जतिको सम्पत्ति छ। र कम्पनीको प्रति सेयर नेटवर्थ ७४.२९ रुपैयाँ हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *