काठमाडौं महानगर र ट्राफिक प्रहरीद्वारा संयुक्तरुपमा ‘नो हर्न’ अभियान शुरु, अटेर गरे कारबाही
थानकोट ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आज एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो ।
अभियान शुभारम्भ गर्दै काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाइन लागेको बताए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख मिरा चौधरीले नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटल सँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो ।
काठमाडौं महानगरले २०७३ चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।