सेयर बजार फेरि साताको पाँच दिन मात्रै खुल्ने
थानकोट ।
सेयर बजार पुनः साताको पाँच दिन मात्रै खुल्ने भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबन्धक निरञ्जन फुयालले हाल शुक्रबार समेत भइरहेको कारोबार हटाएर पुनः पाँच दिन मात्रै कारोबार दिन कायम गर्ने बताएका छन्।
बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले काठमाडौंमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना विषयको अन्तर्क्रिया कार्यक्रममा फुयालले यस्तो बताएका हुन्।
प्रबन्धक फुयालले नेप्सेले छिट्टै यो व्यवस्था हटाएर पाँच दिन मात्र सेयर कारोबार हुने बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, ‘गत असारदेखि नेपालमा सेयर कारोबार छ दिन गरिएको छ। छिट्टै शुक्रबारको कारोबार हटाएर पुनः पाँच दिन सेयर कारोबार दिन कायम गर्दैछौं’।
हाल शनिबार बाहेक साताको छ दिन सेयर कारोबार भइरहेको छ। गत असार १ गतेदेखि लागू हुने गरी सेयर बजार साताको छ दिन नै खुल्न थालेको हो।
सेयर खरिद बिक्री केन्द्रबाट वि. सं. २०५० मा नेपाल स्टक एक्सचेञ्जको रूपमा रूपान्तरण भएसँगै सेयर बजार ५ दिन खुला रहने गरेको थियो। तर गत जेठमा सरकारले पेट्रोलियम पदार्थको बचत गर्न परीक्षणको लागि भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिइयो।
नेप्सेले पनि सरकारको निर्णयसँगै आइतबार बिदा दिएर शुक्रबार नियमित कारोबार गरिरहेको थियो।
पछि सरकारले आइतबार दिएको बिदा खारेजकाे घोषणा गरेसँगै नेप्सेले आइतबार समेत गरी साताको छ दिन नै नियमित सेयर कारोबार सञ्चालन गर्दै आएकाे हाे।