थानकोट-चित्लाङ सडक स्तरोन्नति गर्न संघीय सरकार सकरात्मक
थानकोट ।
थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) को स्तरोन्नति गर्न संघीय मन्त्रीहरु सकारात्मक भएका छन् । मंगलबार चन्द्रागिरि नगरपालिका र थाहा नगरपालिकाका प्रतिनिधिहरुसँगको छलफलका क्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई र अर्थमन्त्री जनार्दन शर्मा सकारात्मक भएका हुन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र सडक विभागका महानिर्देशक अर्जुनजंग थापा सहितको छलफलमा सडक विभागले उक्त सडकको डिपिआर तयार गरेपछि सडक निर्माण र स्तरोन्नति गर्न लाग्ने बजेट सुनिश्चित गर्न दुवै मन्त्रीहरु सकारात्मक भएका हुन् ।
चन्द्रागिरि नगरपालिका र थाहा नगरपालिकाको संयुक्त बैठकले यसै आर्थिक वर्षमा थानकोट-चन्द्रागिरि-चित्लाङ सडक स्तरोन्नति गर्न सबै प्रकारको प्रयास र सहयोग गर्ने निर्णय भएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताउनुभयो ।
नागढुङ्गा सुरूङ मार्गको पहुँच मार्ग विवादः जनप्रतिनिधिले भेटे भौतिक पुर्वाधार मन्त्री
थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले संघीय राजधानी र प्रदेश राजधानीलाई जोड्ने सबैभन्दा छोटो मार्ग भएकोले थानकोट चन्द्रागिरि चित्लाङ सडक स्तरोन्नति गर्न अत्यावश्यक भएको बताउनुभयो । उहाँले त्रिभुवन राजपथ अन्तरगत नौबिसे थानकोट सडकको चाप कम गर्न पनि यो सडकले सहयोग गर्ने बताउनुभयो । भौतिक पुर्वाधार तथा यातायात मन्त्री राईले ५० करोड भन्दा कम लागतको डिपिआर तयार भए मन्त्रालयबाट नै बजेटको व्यवस्था गर्ने र ५० करोड भन्दा बढि लागत लाग्ने भए अन्य मन्त्रालयमा सिफारिस गर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले भौतिक पुर्वाधार विकास मन्त्रालयबाट आएको योजनामा बजेट विनियोजन गर्न आफु सकारात्मक भएको बताउनुभयो ।