नागढुङ्गा सुरूङ मार्गको पहुँच मार्ग विवादः जनप्रतिनिधिले भेटे भौतिक पुर्वाधार मन्त्री
थानकोट ।
नागढुङ्गा सुरूङ मार्गको पहुँच मार्ग निर्माणका क्रममा चन्द्रागिरि-३ स्थित थानकोट-टोटीटोल (टोटी पाखा) जोड्ने परम्परागत सडक मार्ग स्थानान्तरण गरिएको विषयमा जनप्रतिनिधि एवं स्थानीय बासीले मंगलबार संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
काठमाण्डाै क्षेत्र नं. १० का सांसद् राजेन्द्र कुमार केसी, क्षेत्र नं ९ का सांसद् कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद् रमा आलेमगर, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी लगायतको टोलीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईसँग भेट गरी सुरूङ मार्ग निर्माणका क्रममा परम्परागत सडक स्थानान्तरण गरिएको विषयमा ध्यानाकर्षण गराएका हुन् । सो क्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयहरूको समेत उपस्थिति रहेको काठमाण्डाै क्षेत्र नंं १० ख का काँग्रेस नेता धर्मनन्द श्रेष्ठले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
भेटका क्रममा मन्त्री इस्तियाक राईले स्थानीयबासीको माग एवं सुझाव अनुसार पुरानो सडक मार्गको विषयमा अध्ययन गर्नका लागि प्राविधिक टोली यथासिघ्र खटाउने बारेमा आश्वासन दिनुभएको छलफलमा सहभागीहरूले बताए ।
सो क्रममा त्रिभुवन राजपथको सुरूवाती विन्दुका विषयमा पनि छलफल भएको बताइएको छ । त्रिभुवन राजपथको सुरूवाती विन्दु (जिरो किलोमिटर) नागढुङ्गाबाट कायम हुने फैसला कार्यान्वयन गर्ने विषयमा मन्त्री इस्तियाक राईले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छलफलमा सहभागी युवा नेता ईश्वर लामाले जानकारी दिनुभयो । यस्तै त्रिपुरेश्वरदेखी नागढुङ्गासम्मको सडकको रेखांकन मापदण्डको सीमा घटाउने तथा थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) को स्तरोन्नतीका लागि थप बजेट व्यवस्थापनका विषयमा समेत भौतिक पुर्वाधार तथा यातायात मन्त्रीले चासो राख्नुभएको बताइएको छ ।