साफ यू-२० च्याम्पियनसिप: नेपाल लिग चरणबाटै घर फर्कियो

थानकोट ।
नेपाल भारतमा जारी साफ यू-२० च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ ।
केहीबेर अघि सम्पन्न भारत र माल्दिभ्सबीचको खेलको नतिजासँगै नेपालको फाइनल प्रवेश गर्ने झिनो सम्भावना सकिएको हो । नेपाल अन्तिम दुईका लागि छनोट हुनका लागि माल्दिभ्सले भारतलाई हराउनुपर्ने समीकरण थियो तर खेलमा भारत विजयी भएपछि नेपालको उपाधी नजिक पुग्ने सपना पुनः एकपटक तुहिएको छ ।
यसअघि मंगलबार साँझ सम्पन्न नेपाल र बंगलादेशबीचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । नेपालले प्रतियोगितामा खेलेका ४ मध्ये २ मा जित १ मा हार तथा १ मा बराबरी खेल्यो ।
प्रतियोगिताको उपाधीका लागि डिफेन्डिङ च्याम्पियन भारत र प्रतियोगितामा अपराजित टोली बंगलादेशबीच शुक्रबार खेल हुनेछ ।