कीर्तिपुर नगरपालिकामा ३० लाख रूपैयाँसम्मका योजनामात्र उपभोक्ता समितिले सञ्चालन गर्न पाउने
थानकोट ।
कीर्तिपुर नगरपालिकाले चालु आर्थिक वर्षदेखी ३० लाख रूपैयाँसम्मका योजना उपभाेक्ता समितिबाट सञ्चालन गर्ने भएको छ । नगरको साउन १३ गते शुक्रबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कार्कीका अनुसार चालु आ.व.देखि ठेक्कापट्टा विधिबाट नगरपालिकामार्फत सञ्चालन हुने पूर्वाधार निर्माणमा गुणस्तर कायम राख्नका लागि निर्माण सामाग्रीहरूको प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) गरिनेछ । यस्तै, भवन निर्माणका लागि माटो परिक्षण (स्वाइल टेस्ट) गरेर मात्र संरचना निर्माणको कार्य अघि बढाउने निर्णय गरिएको छ ।
कीर्तिपुर नगरक्षेत्र भित्र कन्टेन्जेन्सी र मुल्य अभिवृद्धि करसहित ३० लाख रूपैयाँसम्मका योजनामात्र अब उपभोक्ता समितिबाट सञ्चालनमा गर्न पाइनेछ । नगरको छैठाैं कार्यपालिका बैठकले उपभोक्ता समितिले लागत अनुमानमा स्वीकृत भएको बाहेक हेभि इक्युपमेण्ट प्रयोग गर्नुपर्ने योजना सञ्चालन गर्न नपाउने निर्णय गरेको छ ।