सुरूङ मार्गको पहुँच मार्ग निर्माणका विषयमा छलफल गर्न ३ सांसद् एकै टेबलमा
थानकोट ।
नागढुङ्गा सुरूङ मार्गको पहुँच मार्ग निर्माणका क्रममा थानकोटमा परम्परागत सडक मार्ग नै मासेर संरचना निर्माण गरिएको विषयले संसद् मा समेत प्रवेश पाएपछि जनप्रतिनिधिहरूले आइतबार सामुहिक छलफल गरेका छन् ।
थानकोटबाट टुटीटोल जाने परम्परागत सडक मार्ग सुरूङ मार्गले स्थानान्तरण गराई संरचना निर्माण गरिएको प्रति स्थानीयहरूले असन्तुष्टी जनाउँदै आएका छन् ।
आइतबार काठमाण्डाै क्षेत्र नं. ९ का सांसद् कृष्णगोपाल श्रेष्ठ, क्षेत्र नं. १० का सांसद् राजेन्द्रकुमार केसी, क्षेत्र नं. १० ख की प्रदेश सांसद् रमा आलेमगर, चन्द्रागिरि नगरका प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ लगायत विभिन्न वडाका वडाध्यक्षहरू सहित स्थानीयहरूले पहुँच मार्ग निर्माणका क्रममा मासिएको परम्परागत सडकका विषयमा छलफल गरेका हुन् ।
‘सुरूङ मार्गको पहुँच मार्ग निर्माण गर्दा थानकोटको परम्परागत सडक मासियो’- सांसद् केसी
छलफलका क्रममा परम्परागत सडक साबिककै स्थानमा कायम राख्न सबै वक्ताहरूले ऐक्यबद्धता जाहेर गरेका छन् ।