माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ मा, आवेदन दिने समय भदौ ५ गतेसम्म
थानकोट ।
माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले आइतबार सार्वजनिक सूचनामार्फत ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनुपर्नेछ । १२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
सूचनामा परीक्षामा सहभागी हुन चाहनेले भदौ ५ गतेसम्म आवेदन दिनुपर्ने बताएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
एक जना विद्यार्थीले बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।