साफ यू-२० च्याम्पियनसिप: नेपालको लगातार दोश्रो जित, श्रीलंका विरूद्ध ३-० को स्पष्ट जित

Thankot Times

थानकोट ।

भारतमा जारी साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले पराजित गरेको छ । जितसँगै नेपालले फाइनलको यात्रालाई अझ मजबुत बनाएको छ ।  भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भर्खरै सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-० गोलले पराजित गर्ने क्रममा कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।

पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता बनाएको थियो । अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरे ।

खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा सुन्दर गोल गरे ।

त्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३-० को जित दिलाए ।

जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ ।  नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ ।

यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *