पनौती कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति

Thankot Times

थानकोट ।

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुमति दिएको छ ।

स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिले शुक्रबार व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति प्राप्त गरेको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको जनाइएको छ ।

प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाईंले बताए । ‘मन्त्रालयबाट व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति पायौँ, प्राधिकरणले प्राविधिक प्रक्रियाको काम सकेर सञ्चालन निर्देशन जारी भएलगत्तै व्यावसायिक रुपमा सञ्चालन गर्नछौं’, उनले भने ।

सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परिरहेका बेला मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको हो, राससले खबर लेखेको छ । कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुदूम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो । अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ