अब सीडीओ कार्यालयमै मोटरसाइकल पार्किङको सुविधा
थानकोट ।
बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रहँदै आएको मोटरसाइकल पार्किङको समस्या हल हुने भएको छ । सो कार्यालय अघिल्तिर मोटरसाइकल पार्किङ गर्दा महानगरपालिकाले ट्रकमा उठाएर लैजाँदा सेवाग्राहीले झन्झट व्यहोर्ने गरेका थिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीले अब सोही कार्यालयमा पार्किङ गर्न पाउनेछन् । सीडीओ कार्यालयमा कार्यरत सरकारी कर्मचारी र बाहिरबाट आउने सरकारी सवारी साधन सँगै रहेको जल तथा मौसम विज्ञान विभागमा पार्किङ गर्ने निर्णय गरिएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीले सवारी पार्किङ गर्न नपाउँदा सडकमै राख्ने गरेका थिए ।
सिंहदरबार तर्फबाट बबरमहलतर्फ निस्कने साँघुरो सडकमा पार्किङ निषेध गरिएको हुनाले महानगरले सवारी साधन उठाएर लैजाने गरेको थियो ।