काठमाडौं महानगरपालिकाले कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने
थानकोट ।
काठमाडौं महानगरपालिकाले कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने भएको छ । महानगरका शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले महानगरले आगामी आर्थिक वर्षदेखि कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने जानकारी दिएका हुन् ।
बाल कक्षादेखि ५ कक्षासम्म दिँदै आएको दिवा खाजा केन्द्र सरकारले कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्य लिएर कक्षा ६ सम्म विस्तार गरेको छ । तर, काठमाडौं महानगरपालिकाले भने आगामी आर्थिक वर्षदेखि नै कक्षा ८ सम्म खाजा विस्तार गर्ने निर्णय गरेको छ ।
दिवा खाजा कार्यक्रमले विद्यार्थी भर्नादर बढाएको, बालबालिकाको स्वास्थ्य सुधार भएको अध्ययनले देखाएपछि विस्तार गर्ने निर्णय गरिएको अधिकृत सुवेदीले बताए । उनले भने ‘रिसर्चले दिवा खाजा कार्यक्रम अत्यन्तै प्रभावकारी भएको आयो । अर्को न्यून आयस्रोत भएका बच्चाहरुको हातमै पुग्ने भएकाले उदार भएरै महानगरले नै खर्च गर्ने हिसाबले बजेट राखेको छ ।’
केन्द्र सरकारले कक्षा ६ सम्म दिने प्रतिविद्यार्थी १५ रुपैयाँमा महानगरपालिकाले १० रुपैयाँ वृद्धि गरेर २५ पुर्याएको छ भने कक्षा ७ र ८ लाई पनि सोही अनुसार प्रतिविद्यार्थी २५ रुपैयाँ छुट्याएको शाखा अधिकृत सुवेदीले जानकारी दिए । शाखा अधिकृत सुवेदीको अनुसार दिवा खाजाको लागि मात्रै महानगरपालिकाले ९ करोड भन्दा बढी रकम विनियोजन गरेको छ ।