विदेश उड्नुअघि महामहिमहरू चन्द्रागिरि डाँडोमा
थानकोट ।
संसदीय सुनुवाई सकेर नियुक्ति पाइवरी विदेश उड्ने तरखरमा रहेका र नियुक्तिको पर्खाइमा रहेका विभिन्न देशका लागि राजदूतमा सिफारिस २० जना गतसाता एकैसाथ चन्द्रागिरि हिल्स आइपुगे । सम्बन्धित देश उड्नुअघि विभिन्न पक्षीय भेटघाटमा व्यस्त महामहिमहरु केवलकार चढेर भालेश्वर दर्शनका लागि यहाँ आएका भने होइनन् । काठमाडौँ नजिकैको डाँडोमा रमाउनका लागि पनि उनीहरु चन्द्रागिरि उक्लेका थिएनन् ।
एकरात बास बस्नेगरी राजदूतहरु चन्द्रागिरि आइपुग्नुको उद्धेश्य थियो, सामूहिक भेटघाट र गोप्य छलफल । त्यसको चाँजोपाँजो मिलाएका थिए नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले । भिआइपीहरुलाई बेलाबेला मुडफ्रेस गराउन आफ्नै सन्चालनमा रहेको चन्द्रागिरि घुमाउने गरेका ढकालले महामहिमहरुलाई पनि त्यहि प्रयोजनका लागि बोलाएका थिए । उनै ढकालको रात्रिभोजसहितको गोप्य छलफलको निम्तो मान्न उनीहरु एकैसाथ यहाँ आइपुगेका हुन् ।
त्यहाँ सहभागी एक राजदूतका अनुसार असार १३ गते साँझ केवलकार समात्न पुगेका उनीहरु भोलिपल्ट ब्रेकफास्ट खाएर मात्रै फर्किएका हुन् । डिनरसहितको छलफलका लागि निम्त्याइएका महामहिमहरूलाई ढकालले केवलकार चढ्ने ठाउँमै पुगेर स्वागत गर्दै माथि लगेका थिए ।
डिनर पार्टीको अवसरलाई सदुपयोग गर्दै ढकालले आफ्नो व्यवसायसँग सम्बन्धित पर्यटन र वैदेशिक लगानीका विषयमा महामहिमहरुको भूमिकाको अपेक्षा राखेको बताइन्छ । अनौपचारिक कार्यक्रममा भूमिका बाँधेर उनले नेपालमा बैदेशिक लगानी बढाउन र पर्यटक भित्र्याउन राजदूतहरुले विदेशमा बसेर भूमिका खेलिदिने आफ्नो अपेक्षा सुनाएका थिए ।
भोलिपल्ट बिहान सूर्योदयको दृष्यावलोकसहित कफी पिएर निस्केका उनीहरुलाई ढकालले केवलकार चढाएर बिदाइ गरेका थिए ।
जनआस्थाबाट ।