लिग टु क्रिकेट : नेपाललाई नामिबियाले दियो २२१ रनको लक्ष्य

थानकोट ।
आइसिसी लिग टु क्रिकेटमा नामिबियाले नेपाललाई २ सय २१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४७.३ ओभरमा २ सय २० रनमा अल आउट भयो ।
नामिबियाका छैटौं नम्बरका ब्याटर जान निकोल लोफ्टी एटोनले ६९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाए । ओपनर लो हान्ड्री लरेन्स र डिभान ला ककले पहिलो विकेटका लागि ६.३ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । लरेन्स करण केसीको बलमा १८ रनमा कट एण्ड बोल्ड आउट भए ।
उनले २३ बलमा ३ चौका प्रहार गरे । ११ औं ओभरको चौथो बलमा सन्दीपले आक्रामक सुरुवात गरेका ककलाई एलबीडब्लू आउट गरे । डिभान ला कक ३२ बलमा ७ चौकासहित ४१ रनमा आउट भए । सन्दीपले विकेटकिपर जीन ग्रिनलाई १५ औं ओभरको पहिलो बलमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट गरे ।
नामिबियाका प्रमुख ब्याटर क्रेग विलियम्स ४६ बलमा १ चौकासहित २१ रनमा रन आउट भए । दीपेन्द्रसिंह ऐरीले ३० औं ओभरको पाँचौं बलमा कप्तान गेर्हार्ड इरास्मसलाई २२ रनमा बोल्ड गर्दै प्रमुख विकेट दिलाए ।
तल्लोक्रमका जेजे स्मित १७ र डेविड विजा १८ रनमा आउट भए । नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।