चन्द्रागिरिका बजार अनुगमन गर्दा के भेटियो ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा सोमबार बजार अनुगमन गरिएको छ । नगर उपप्रमुख वसन्ती श्रेष्ठको नेतृत्वमा खाद्य तथा गुणस्तर नियन्त्रण विभागका प्रतिनिधि, चन्द्रागिरि नगर उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सम्बन्धित वडाका जनप्रतिनिधिहरूको उपस्थितिमा संयुक्त रूपमा बजार अनुगमन गरिएको हो ।

बजार अनुगमनका क्रममा नगर उपप्रमुख वसन्ती श्रेष्ठले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल हुने खालका खाद्य पदार्थको विक्री वितरणमा ख्याल राख्न व्यवसायीहरूलाई सचेत गराउँदै बजार अनुगमनको कार्य निरन्तर जारी रहने बताउनु भयो ।

सो क्रममा चन्द्रागिरि नगरपालिका वडा नंं ११ सतुंगल र १५ तीनथानाका मासु पसल, दुग्धजन्य पदार्थका पसल, बेकरी पसल लगायतमा अनुगमन गरिएको वडा नंं १५ का वडाध्यक्ष घनश्याम लुँइटेलले जानकारी दिनुभयो । बजार अनुगमनका क्रममा एक प्रकृतिको व्यवसाय सञ्चालनको अनुमति लिइएको र फरक प्रकृतिको व्यवसाय सञ्चालन गरेको समेत  भेटिएको वडाध्यक्ष  लुँइटेलले बताउनु भयो।

बजार अनुगमनका क्रममा फेला परेका उपभोग्य मिति नाघेका खाद्य पदार्थहरू तत्कालै नष्ट गरिएको वडा नंं ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।

बजार अनुगमनका क्रममा कतिपय व्यवसायीको व्यवसाय दर्ताको मिति नाघेको तथा केहीले बिना इजाजत व्यवसाय सञ्चालन गरेको भेटिएको वडा नंं ८ का वडाध्यक्ष प्रल्हाद रिजाले बताउनुभयो । सो क्रममा व्यवसाय दर्ता नविकरण नगराएका तथा इजाजत नलिएका व्यवसायीले १५ दिनभित्र व्यवसाय नविकरण गर्न तथा इजाजत लिन सचेत गराइ निर्देशन दिइएको चन्द्रागिरि ११ का वडा सदस्य सिंह बहादुर महर्जनले जानकारी दिनुभयो।

सोमबारको बजार अनुगमनका क्रममा देखिएका त्रुटी सच्याइ व्यापार व्यवसाय गर्न सुझाव दिइएको चन्द्रागिरि नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *