राप्रपाको नेतृत्वमा आज काठमाडौंमा राजावादीको आमसभा

थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडाैंमा आमसभा गर्दैछ ।
भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा जिल्ला प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खुमा आमसभा गर्न लागेको हो ।
‘चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार विभाग प्रमुख श्रेष्ठले भने, ‘प्रशासन सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो ।’
उनले अगाडी भने, ‘सरकारको रवैयाबाट बुझौं, हाम्रो आन्दोलनले उचाई लिदैंछ, आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।’
सो प्रदर्शनलाई सफल बनाउने पूर्व तयारीका लागि हिजो केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसमितिको बैठक पनि बसेको थियो । जुन बैठकले प्रदर्शन सभ्य, अनुशासित र भव्य बनाउने निर्णय गरेको छ ।
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाइ नेतृत्वमा गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजको प्रदर्शन अनुशासित बनाउन विशेष जोड दिनेछ ।