माओवादीले अन्तर्घात गर्नेको रिपोर्ट १५ दिनभित्र तयार गरी कारबाही गर्ने
थानकोट ।
नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गर्न कमिटी गठन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा समिति बनाएर अन्तर्घात गर्नेलाई कारवाही गर्ने तयारी गरेको हो ।
गत वैशाख ३० गते भएको स्थानीय चुनावमा अन्तर्घात गरेर पार्टीका उम्मेदवारलाई हराउन नेतालाई कारबाही गर्न कमिटी बनाएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘स्थानीय चुनावमा माओवादीमा धेरै उम्मेदवारमाथि अन्तर्घात भएको सूचना आएको छ । त्यसैले छानविन गर्न टंकजीको नेतृत्वमा ५ सदस्य कमिटी बनाउनेछौ त्यसमा स्थायी समिति सदस्यबाटै पर्नुहुन्छ’ रातोपाटीसँग कुरा गर्दै पोखरेलले भने, ‘कमिटीले १५ दिन लगाएर छानविन गरेर रिपोर्ट बुझाउने छ । यदि पार्टीका उम्मेदवार हराउन कुनै नेताको संलग्नता भएको पुष्टी भएमा कारवाही हुन्छ ।’ पार्टीका उम्मेदवार हराउने नेताको पुष्टि भए पार्टीबाट समेत निष्कासन गरिने पोखरेलले बताए ।