काठमाडाैं जिसस कप फुटबलमा आज चन्द्रागिरिले तारकेश्वरसँग खेल्दै, अघिल्लो चरण पुग्न १ अंक चाहिने

थानकोट ।
जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा जारी जिसस काठमाडाैं कप फुटबल प्रतियोगिता अन्तर्गत आज समुह चरणका अन्तिम दुई खेल हुँदैछन् ।
दिनको पहिलो खेल बिहान ८ बजे समुह ए मा रहेका कीर्तिपुर र दक्षिणकाली नगरपालिकाबीच हुनेछ ।
समुह चरणको अन्तिम खेल अघि नै सेमीफाइनलमा पुगेका यी दुई छिमेकी नगरले समुह विजेता हुन मैदान उत्रनेछन् । यस समुहमा दुवै खेल हारेको नागार्जुन प्रतियोगिताबाट बाहिरिएको छ ।
बिहान १० बजे हुने दोश्रो खेलमा समुह बी मा रहेका चन्द्रागिरि र तारकेश्वर भिड्नेछन् । यसअघिको खेल जितेको तारकेश्वर समुह चरणमा शतप्रतिशत जित निकाल्ने प्रयासमा मैदान उत्रँदा चन्द्रागिरि भने प्रतियोगितामा पहिलो जित निकाल्ने प्रयासमा हुनेछ ।
पहिलो खेलमा तारकेश्वरले बुढानीलकण्ठमाथि १-० को जित निकालेको थियो भने चन्द्रागिरिले बुढानीलकण्ठसँग २-२ गोलको बराबरी खेलेको थियो । यो खेलमा तारकेश्वर विजयी भएमा गोल अन्तरको आधारमा चन्द्रागिरि वा बुढानीलकण्ठ मध्ये १ टोली सेमीफाइनल पुग्नेछ । चन्द्रागिरि भने खेल बराबरी सकिएमा पनि सेमीफाइनल प्रवेश गर्नेछ ।
दुवै खेल हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा सञ्चालन हुनेछन् ।
प्रतियोगितामा काठमाडाैंका विभिन्न ६ स्थानीय तहले भाग लिएका छन् । प्रतियोगिताको समुह ए मा दक्षिणकाली, नागार्जुन, कीर्तिपुर नगर रहेका छन भने समुह बी मा चन्द्रागिरि, बुढानीलकण्ठ र तारकेश्वर रहेका थिए ।
सेमीफाइनल खेल भोलि बिहीबार हुनेछन् । फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ हजार रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ ।
यस्तो छ चन्द्रागिरि नगरको टिम सेटः
मुख्य प्रशिक्षकः रमेश बुढाथोकी, सहायक प्रशिक्षकः हिराकाजी महर्जन, अफिसियलः समीरजंग कार्की, खेलाडीः राजिव श्रेष्ठ, सुसान्त घिमिरे, अनलि गुरुङ, रोहित थापा, सिल्भा कान्दङ्वा, सबल महर्जन, विशाल गोपाली, सायस श्रेष्ठ, अभिमान सिंह बस्नेत, सक्सम शाही, रोहन बुढाथोकी, आयुष्मान श्रेष्ठ, रन्जन श्रेष्ठ, साहिल राना, साहिल अधिकारी, अविरल रिजाल, विश्वास परियार र विजय थापा