काठमाडाैं जिसस कप फुटबलः चन्द्रागिरि र बुढानीलकण्ठले अंक बाँडेपछि समीकरण रोचक

थानकोट ।
जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा गत शनिबारबाट सुरु भएको जिसस काठमाडाैं कप फुटबल प्रतियोगिताको समुह बी मा रहेका चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबीच खेल २-२ गोलको बराबरीमा सकिएको छ ।
पहिलो खेल हारेको बुढानीलकण्ठ आज (सोमबार) चन्द्रागिरि विरुद्ध सुखद नतिजा निकाल्ने लक्ष्यसाथ मैदान उत्रँदा चन्द्रागिरि भने पहिलो खेलमै जित हात पार्दै प्रतियोगिताको दोश्रो चरण प्रवेश गर्ने लक्ष्यमा थियो । जहाँ खेलमा २-१ को अग्रता जोगाउन नसक्दा बुढानीलकण्ठ चन्द्रागिरिसँग अंक बाँड्न बाध्य हुँदा प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।
बुधबार हुने चन्द्रागिरि र तारकेश्वरको खेलको नतिजाले प्रतियोगिताको समुह बी बाट तारकेश्वरसँगै सेमीफाइनल पुग्ने दोश्रो टोलीको टुंगो लाग्नेछ । सो खेलमा कम्तीमा बराबरीको नतिजाले पनि चन्द्रागिरि समुह उपविजेता बन्दै सेमीफाइनलमा पुग्नेछ ।
सो खेलमा चन्द्रागिरि २ गोल अन्तरले पराजित भएमा भने बुढानीलकण्ठको भाग्य खुल्नेछ । पहिलो खेलमा जित हात पारेको तारकेश्वर एक खेल अवागै प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरिसकेको छ ।
हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा सोमबार सम्पन्न दिनको दोश्रो तथा अन्तिम खेलमा चन्द्रागिरिका अविरल रिजालले गोलमा बुढानीलकण्ठ विरुद्ध अग्रता दिलाएका थिए । खेलको पहिलो हाफको अन्त्यतिर बुढानीलकण्ठले लगातार २ गोल गरेपछि चन्द्रागिरि दबाबमा आयो । खेलको दोश्रो हाफमा अविरलले नै दोश्रो गोल गरेपछि खेल बराबरीको अवस्थामा पुग्यो । सो पछि कुनै गोल नहुँदा दुवै टोलीले अंक बाँडे । खेलमा २ गोल् गरेका चन्द्रागिरिका अविरल रिजाल म्यान अफ दि म्याच चुनिए ।
सोमबार नै सम्पन्न समुह ए को खेलमा कीर्तिपुरले नागार्जुनमाथि ३-० को जित निकाल्यो । जितसँगै कीर्तिपुर सेमीफाइनलमा पुगेको छ । सो समुहबाट दक्षिणकाली नगरपालिका पनि सेमीफाइनलमा पुगेको छ । पहिलो खेलमा दक्षिणकालीले नागार्जुनको चुनाैती १-० ले पन्छाएको थियो । हारसँगै प्रतियोगितामा नागार्जुनको यात्रा सकिएको छ ।
प्रतियोगितामा काठमाडाैंका विभिन्न ६ स्थानीय तहले भाग लिएका छन् । प्रतियोगिताको समुह ए मा दक्षिणकाली, नागार्जुन, कीर्तिपुर नगर रहेका छन भने समुह बी मा चन्द्रागिरि, बुढानीलकण्ठ र तारकेश्वर रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ हजार रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ ।
यस्तो छ चन्द्रागिरि नगरको टिम सेटः
मुख्य प्रशिक्षकः रमेश बुढाथोकी, सहायक प्रशिक्षकः हिराकाजी महर्जन, अफिसियलः समीरजंग कार्की, खेलाडीः राजिव श्रेष्ठ, सुसान्त घिमिरे, अनलि गुरुङ, रोहित थापा, सिल्भा कान्दङ्वा, सबल महर्जन, विशाल गोपाली, सायस श्रेष्ठ, अभिमान सिंह बस्नेत, सक्सम शाही, रोहन बुढाथोकी, आयुष्मान श्रेष्ठ, रन्जन श्रेष्ठ, साहिल राना, साहिल अधिकारी, अविरल रिजाल, विश्वास परियार र विजय थापा