काठमाडौं-चितवन एक घण्टामा पुग्ने योजना बनाउनेलाई गिज्याइरहेको थानकोट-चित्लाङ सडक
थानकोट ।
सरकारले बजेटमार्फत चितवन-काठमाडौं एक घण्टामा आउन मिल्ने सडक बनाउने घोषणा गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको योजनामा बजेटमा यो कार्यक्रम राखिएको थियो।
चित्लाङ हुँदै चितवनसम्म एक घण्टामा पुग्न सकिने हावादारी कार्यक्रम राखिएको भन्दै आलोचना समेत भयो। चितवन एक घण्टामा पुग्ने गरि सडक बनाउने घोषणा हावादारीनै रहेको पुष्टीका लागि टाढा जानुपर्दैन्। त्यही थानकोट-चित्लाङ-भीमफेदी सडकलाई हेरे पुग्छ। बजेटमा चित्लाङ हुँदै चितवन जोड्ने प्राथमिकताका साथ उल्लेख छ।
तर, त्यही थानकोट-भीमफेदी सडकको ट्रयाक खनेको ५६ वर्षसम्म स्तरोन्नति भएको छैन। र, कतिपय स्थानमा ट्रयाक खनेकै हालतमा छ। ५६ वर्षसम्म स्तरोन्नति नभएको सडकले काठमाडौं-चितवन एक घण्टा पुग्ने घोषणालाई गिज्याइरहेको छ।
थानकोट-भीमफेदी सडकको ऐतिहासिक महत्व बोकेको छ। जुन सडकबाट गाडी बोकेर ल्याइएको थियो। काठमाडौंमा मोटर ल्याउन वीरगंजदेखि मकवानपुरको तत्कालीन सदरमुकाम भीमफेदीसम्म सडक खनिएको थियो। भीमफेदीबाट भने बोकेर काठमाडौंमा गाडी ल्याइएको थियो।
२०१३ सालमा त्रिभुवन राजपथ (बाइरोडको बाटो) निर्माण भएपछि मात्रै काँधमा गाडी बोक्न छाडिएको थियो। स्थानीयले २०१८ देखि २०२३ सालसम्म गाडी बोक्ने गोरेटोलाई जनश्रमदानबाट चित्लाङ-थानकोट मार्गको निर्माण भएको थियो। यो सडक सामान्य स्तरोन्नति मात्रै भएको छ।
तत्कालीन सांसद रामलाल श्रेष्ठको पहल र चित्लाङका अगुवा बाबुकाजी मानन्धरलगायतको अग्रसरतामा यो गाडी बोकेर ल्याउने गोरेटो बाटो नयाँ सडकमा परिणत भएको थियो। यसमा स्थानीय उनलाई भरपुर सहयोग र श्रमदान गरेका थिए। यो सडकको ट्रयाक खोलेको पनि झण्डै ५६ वर्ष भएको छ।
२०७१ सालमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्तरोन्नतिको काम सुरु गरिएको थियो। तर यो सडकको स्तरोन्नति गर्ने कामले भने तीब्रता पाउन सकेको छैन्। यो सडकको अहिले काठमाडौंतर्फको काम भइरहेको छ। तर त्यहाँ रहेका ढुङ्गा र चट्टानका कारण काम गर्न समय लागेको आयोजनाका अधिकारीहरु बताउँछन्।
ती अधिकारीका अनुसार चन्द्रागिरि भन्ज्याङदेखि चनवन ब्यारेकसम्मको काम भने लगभग अन्तिम चरणमा पुगेको छ। काठमाडौंतर्फको काम भने विभिन्न बहानामा अवरुद्ध हुँदै आइरहेको छ।
कुल २२.५ किलोमिटर लम्बाइ रहेको यो सडकको काठमाडौंतर्फ ८.३ किलोमिटर र मकवानपुरतर्फ १४.२ किलोमिटर पर्छ। यो सडक काठमाडौं थानकोट चेकपोस्टबाट सुरु भएर पानिघाट, चन्द्रागिरि भन्ज्याङ, चित्लाङ, नारायणहिटी, बिसिङखेल, नौखण्डेसम्म रहेको छ।
सरकारले पनि आगामी वर्षको बजेट कार्यक्रममा यो सडकलाई एक घन्टामा चितवन पुग्न सकिने गरी द्रुत मार्गको रुपमा विकास गरिने उल्लेख गरेको छ। तर यही अहिले भइरहेको सडक भने कहिलेसम्म सम्पन्न हुन्छ भन्नेमा यकिन छैन्।
सरकारले ५६ वर्ष अघि ट्रयाक खोलिएको बाटोलाई गाडी कुदाउन मिल्ने त परै जाओस ८ वर्ष बितिसक्दा पनि ट्रयाक समेत खोल्न सकेको छैन्।
अहिलेसम्म कति भयो काम ?
सरकारले निर्माण कम्पनीलाई पटक-पटक म्याद थप्दा पनि काम अगाडि बढ्न सकेको छैन। तर अघिल्लो वर्ष थानकोट-चित्लाङ सडक आयोजना खारेज गरेर सडक डिभिजन काठमाडौंलाई हस्तान्तरण गरेपछि भने केही प्रगति भएको देखिन्छ।
काठमाडौं डिभिजनले आयोजनाको जिम्मेवारी पाएदेखि थानकोटबाट २ हजार ५ सय मिटरदेखि ८ हजार २५० मिटरसम्मको सडकको ट्रयाक क्लियर भएको डिभिजनका इन्जिनियर नेत्र पौडेलले बताए।
यो अवधिमा ३ हजार १६० मिटर सडकमा मेसिनरी वाल उठाउने, ३ हजार ४२० मिटर सडकसम्म डाउन गर्ने, ३ हजार ५८० मिटर सडकसम्म २ मिटर माटो भर्ने, ३ हजार ७८० मिटरसम्म ढिस्को काट्ने, पहिरो हटाउने, खोल्साको मोडलाई २५ मिटरको रेडियसमा घुमाउने लगायतको काम भएको उनले जिकिर गरे।
‘यस्तै रक कटिङ गर्नेदेखि सेतो पहरालाई समेत छिचोलेको छ। यस्तै ७ हजार ९ सय मिटर सडकमा २२ मिटर अगाडि अर्को मोड बनाएर ढिस्को कटिङ गरेर नमूना प्राकृतिक वालसमेत निर्माण गरिएको छ,’ उनले भने।
पौडेलका अनुसार सबै सडक क्लियर गरेर बाटो संचालन गर्नेसम्मको अवस्थामा पुगेको छ। तर केही ठाउँमा पाइप हाल्ने काम अझै बाँकी रहेको पनि उनले बताए। यो काम सकिएपछि मात्रै निर्माणका लागि अरु ठेक्का गर्न सकिने पौडेलले बताएको बीजमाण्डुमा खबर छ।
यस्तै चित्लाङबाट काठमाडौंतर्फ पर्ने २ किलोमिटर सडकको भने कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको छ। यसका लागि आयोजनाले एक वर्षको समयमा कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्काको प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए। यो भदौ वा असोजको पहिलो हप्तातिर ठेक्का लागेर निर्माण कार्य सुरु गरिने पनि पौडेलको भनाइ छ। यो आयोजनामा आगामी वर्षको लागि हाल ३ करोड रुपैयाँ मात्र विनियोजन भएको छ। यो ३ करोड रुपैयाँले त दायित्व समेत तिर्न नपुग्ने आयोजनाको भनाइ छ।
अहिले बाटो संचालन भएपनि वर्षातका बेला पहिरो आएर रोकिने गरेको छ। आयोजनाले कामदार खटाएको र पहिरो आउनेवित्तिकै हटाउने गरेको जनाएको छ।
सडक स्तरोन्नतिका लागि २०७०/०७१ देखि छुट्टै कार्यालय स्थापना गरी काम अघि बढाइएको थियो। किराँतेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीले २०७३ साउन १७ गते सम्झौता गरी काम अघि बढाएको थियो।