काठमाडौंका केही क्षेत्रहरूमा दुई महिनाका लागि निषेधाज्ञा जारी

थानकोट ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुई महिनाका लागि राजधानीका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा फागुन २५ गतेदेखि लागू भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरवार, प्रधानमन्त्री निवास बालुवाटार र संघीय संसद् भवन आसपासका क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।
प्रशासनले जारी गरेको आदेशअनुसार निषेधाज्ञा लागु भएका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर नाराबाजी, जुलुस, धर्ना, घेराउ तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालयहरू, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र आसपास विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, यातायात, सार्वजनिक सम्पत्तिको सुरक्षा तथा समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनी दिएको छ।