चन्द्रागिरि र दक्षिणकाली नगरका मेयर आफ्नो अडानबाट टसको मस नभएपछि….

Thankot Times

थानकोट ।

काठमाडाैंका दुई स्थानीय तह चन्द्रागिरि र दक्षिणकाली नगरपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको बढुवा भएपछि रिक्त स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय गर्दै अधिकृतहरू पठाएपनि दुवै स्थानीय तह फागुन १ बाटै प्रमुख प्रशासकीय अधिकृत विहिन छन् ।

भुवनेश्वर लामिछाने चन्द्रागिरि नगरपालिका र रामप्रसाद आचार्य दक्षिणकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका थिए ।

चन्द्रागिरि नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र दक्षिणकाली नगरका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएपछि आचार्य र लामिछानेले यी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हुने अवसर पाएपनि हाजिर मन्त्रालयमै गरिरहेका छन् । मन्त्रालयले सरुवा गरेका दुवै अधिकृतहरू दुवै स्थानीय तहका मेयरको असहमतिको कारण हाजिर गर्न नपाई फर्कन बाध्य भएका छन् ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने विषयले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको विवाद गहिरिँदै गएको छ ।

एमालेका मन्त्रीले कांग्रेसले जितेका पालिकामा समन्वय नगरी आफू निकट कर्मचारी पठाएको भन्दै कांग्रेसका मेयर र नेताहरु असन्तुष्ट भएका हुन् ।

कांग्रेसबाट चुनाव जितेका चन्द्रागिरिका मेयर घनश्याम गिरी र सोही पार्टीबाट दक्षिणकालीको मेयर जितेका मोहन बस्नेतले सल्लाह बिना पठाइएका अधिकृतलाई कुनै पनि हालतमा हाजिर नगराउने अडान लिएका कारण प्रशासकीय अधिकृतहरू दिनहुँ मन्त्रालय पुगेर घर फर्कन बाध्य हुन् ।

विवाद बढ्दै गएपछि कांग्रेसका मेयरहरू पार्टी सभापति शेरबहादुर देउवासँग गुनासो लिएर पुगेका छन् । देउवाले गृहमन्त्री रमेश लेखकलाई समस्या समाधान गर्न निर्देशन दिए पनि समाधान अझै नभएको मेयरहरू बताउँछन् ।

यो विवादले चन्द्रागिरि र दक्षिणकाली नगरको प्रशासनलाई अस्तव्यस्त बनाएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास कार्य, भुक्तानी र सेवा प्रवाहमा अवरोध पुगेको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *