महिला टी-२० आई सिरिज: नेपाल नामिबियासँग पराजित, आज युगान्डासँग खेल्ने

थानकोट ।
युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई सिरिजअन्तर्गत आफ्नो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएकोे छ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज भएको खेलमा नामिबियाले नेपाललाई ६ विकेट हराएको हो।
नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहने क्रममा वर्षाले केही समय अवरोध भएपछि खेललाई ‘डिएलएस’ विधिबाट १५ ओभरमा झारिएको थियोे।
खेललाई १५ ओभरमा झारिएपछि लक्ष्य ७१ रनको बनेको थियो। नामिबियाले १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो।
नामिबियाका लागि मेकेलान्ये म्वाटिलेले सर्वाधिक २६ रन बनाइन्। उनले ३५ बलमा तीन चौकाको मद्दतले २६ रन बनाएकी हुन् । यस्तै, जुरिएन डियर्गाड्र्टले ‘नकआउट’ १३ रन बनाइन् । उनले सात बलमा एक चौकासमेत प्रहार गरिन्। नामिबियाका लागि एडेल भान जिलले आठ, सुन विटम्यानले सात, यास्मिन खानले छ र विल्का म्वाटिलेले नकआउट पाँच रनको योगदान दिइन् । नामिबियाले अतिरिक्त छ रन प्राप्त गर्यो ।
नेपालका लागि कप्तान इन्दु बर्मा, कविता जोशी, पूजा महतो र ईश्वरी विष्टले समान एक-एक विकेट हात पारे।।
नेपालले आफ्नो दोस्रो खेलमा आज आइतबार युगान्डासँग खेल्नेछ।
त्यस्तै, फागुन २६ गते हङकङसँग, फागुन २८ गते नामिबियासँग, फागुन २९ गते युगान्डासँग र आगामी चैत १ गते हङकङसँग खेल्नेछ ।