प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भनेर प्रश्न सोध्ने पत्रकारको संसद पास निलम्बन

Thankot Times

थानकोट ।

संघीय संसद् सचिवालयले दुईजना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ । 

महासचिवस्तरीय निर्णयबाट प्रकाश वली र र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको हो ।

वली सुनौलो नेपाल र श्रेष्ठ युवा मन च्यानलका हुन् ।

“संसद् प्रवेश गर्दा पालना गनुपर्ने पत्रकार आचारसंहिता छन् ।

पालना नगरेकाले एक महिनालाई निलम्बन गर्ने निर्णय भएको हो,” संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा शब्द चयनमा ध्यान नदिइएको भन्दै निलम्बन गरिएको बताइएको छ ।

प्रधानमन्त्रीलाई ‘हिटलर’ भनेर प्रश्न गरेको भन्दै एमाले सांसद सूर्य थापाले संसद्‌मै बोलेका थिए ।

केही समयअघि प्रधानमन्त्री संसद् भवनबाहिर निस्किँदा युट्युबरले समाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा तानाशाही प्रवृत्ति देखाएको भन्दै प्रश्न गरेका थिए ।

“तानाशाही प्रवृत्ति किन होला प्रधानमन्त्रीज्यू ?,” प्रधानमन्त्री निस्किन खोजेपछि प्रश्न गरेका थिए, “जवाफ त दिएर जानुहोस् ।” 

सोही क्रममा प्रधानमन्त्रीलाई ‘हिट्लर प्रवृत्तिमा जाँदै हो, सरकार ?’ भनी प्रश्न सोधिएको थियो ।

त्यही विषयमा सांसद थापाले संसद्‌मा आपत्ति जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *