चन्द्रागिरि नगरपालिका वडा नं. ४ आज बालश्रम मुक्त वडा घोषणा हुँदै

थानकोट ।
चन्द्रागिरि नगरपालिका- ४ थानकोट आज बालश्रममुक्त वडा घोषणा हुने क्रममा रहेको छ ।
आज आइतबार सो वडालाई बालश्रममुक्त वडा घोषणा गर्ने कार्यक्रम तय भएको वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए ।
बालबालिकालाई श्रममा लगाउँदा उनीहरूको मौलिक हनन् हुने भएकाले अब आइन्दा कसैले पनि बालबालिकालाई श्रमजन्य काममा लगाउन नपाइने शपथ वडाका बासिन्दाले शपथ ख्वाएर वडा बालश्रम मुक्त घोषणा हुन लागेको हो ।
घोषणा सभा अघि बिहान ९ बजेबाट र्याली निक्लने र सो र्यालीले वडा परिक्रमा गरेपछि थानकोटस्थित वडा कार्यालय हातामा एक समारोहका बीच वडालाई बालश्रममुक्त वडा घोषणा गरिनेछ । नगरप्रमुख घनश्याम गिरी समारोहका लागि प्रमुख अतिथि रहनेछन् ।
सो क्रममा स्थानीय शैक्षिक संस्थाका शिक्षक तथा विद्यार्थीहरू, संघसंस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय बासीहरूको उपस्थिति रहने बताइएको छ ।
चन्द्रागिरि नगरका विभिन्न १० वटा वडा बालश्रम मुक्त वडा घोषणा भइसकेका छन् । पछिल्लोपटक गत महिनामा चन्द्रागिरि २ बाँडभञ्ज्याङ्ग बालश्रम मुक्त वडा घोषणा भएको थियो ।