काठमाडौं शिक्षा क्याम्पस प्रमुखमा शत्रुध्नप्रसाद गुप्ता नियुक्त

थानकोट ।
चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित काठमाडौं शिक्षा क्याम्पसकाे प्रमुखमा शत्रुध्नप्रसाद गुप्ता नियुक्त भएका छन् ।
क्याम्पस सञ्चालक समितिकाे शुक्रबार बसेको बैठकले गुप्तालाई पुन: चार वर्षका लागि क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेकाे काठमाडौं शिक्षा क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।
काठमाडौँ शिक्षा क्याम्पसको नियमावली २०४९ (छैठौं संशोधन, २०७५) को अनुच्छेद ३ को दफा ३.१ ‘ग’ बमोजिम गुप्तालाई क्याम्पसको क्याम्पस प्रमुख पदमा नियुक्त गरिएको अध्यक्ष भट्टराईकाे भनाइ छ ।
बैठकमा क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरू बागमती प्रदेश सभा सदस्य रमा आलेमगर, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, वडा अध्यक्षहरू शिवकुमार महर्जन, घनश्याम लुइँटेल, संचालक समिति सदस्य देवेन्द्र प्रधान, राजेन्द्र विक्रम बानियाँ, मुकुन्द घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
क्याम्पस प्रमुख गुप्ताको नेतृत्वमा काठमाडौं शिक्षा क्याम्पसले गतवर्ष विश्व विद्यालय अनुदान आयोगले प्रदान गरेको गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र (क्यूएए) प्राप्त गरेकाे छ । गुप्ता नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष समेत हुन् ।
साेही बैठकले नै वसन्तकुमार बराललाई चार वर्षका लागि सहायक क्याम्पस प्रमुख नियुक्त गरेको छ ।
बराल यसअघि पनि सोही जिम्मेवारीमा थिए ।
बैठकमा काठमाडौं शिक्षा क्याम्पसद्वारा प्रकाशित शिक्षाशास्त्र साैरभको २४ औं अङ्कको सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूबाट संयुक्त रूपमा विमोचन समेत गरिएको क्याम्पसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।