रारा तालको किनारको डाँफे होटलमा आगलागी, चार भवन जलेर नष्ट

थानकोट ।
मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटलमा बुधबार राति आगलागी हुँदा चार वटा भवन जलेर नष्ट भएका छन् ।
आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ ।
नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट गएका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार होटेलको भान्साबाट सुरू भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिन्डर पड्किँदा अन्य तीन भवनमा क्षति पुर्याएको हो ।
प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको बताइएको छ ।
घटनाको पूर्ण विवरण आउन बाँकी छ ।