जिसस कप फुटबल प्रतियोगिता: चन्द्रागिरिमा खेलाडी छनोट कार्य जारी, पहिलो दिन ११ जना छनोट

थानकोट ।
फागुन २० गतेबाट सुरु हुने काठमाडाैं जिल्ला समन्वय समिति कप फुटबल प्रतियोगिताका लागि चन्द्रागिरि नगरपालिकाले खेलाडी छनोट कार्य जारी राखेको छ ।
हिजो बुधबार नैकापस्थित फुटबल मैदानमा पूर्व राष्ट्रिय खेलाडी एवं चन्द्रागिरि नगरपालिका फुटबल टिमका मुख्य प्रशिक्षक रमेश बुढाथोकीको नेतृत्वमा नगरले खेलाडी छनोट क्याम्प सञ्चालन गरेको हो । सो क्याम्प आज बिहीबार पनि जारी रहनेछ ।
खेलाडी छनोटको पहिलो दिनको क्याम्प सकिँदा ११ जना खेलाडी छनोटमा परेका छन् ।
बुधबार २५ जना खेलाडीले छनोटका लागि नाम लेखाएका थिए । खेलाडीको उमेर, खेल काैशल, शारीरिक बनोट लगायतका पक्षको अध्ययनपछि खेलाडीलाई अघिल्लो चरणका लागि छनोट गरिएको मुख्य प्रशिक्षक रमेश बुढाथोकीले जानकारी दिए ।
कुल १८ जना खेलाडी छनोट गर्ने तयारी छ, प्रतियोगितामा व्यवस्थापनको पाटो सम्हालेका दीपक श्रेष्ठले भने ।
बिहीबार थप ७ जना खेलाडी छनोट गरिएपछि प्रशिक्षणमा राखिने चन्द्रागिरि फुटबल टिमका सहायक प्रशिक्षक हिराकाजी महर्जनले जानकारी दिए ।
प्रतियोगितामा सहभागीताका लागि खेलाडी छनोट गर्न चन्द्रागिरि नगरपालिकाले गत साता सार्वजनिक सूचनामार्फत इच्छुक खेलाडीहरूमा छनोट कार्यक्रममा भाग लिन सूचित गरेको थियो ।
चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गरेका खेलाडीहरूले छनोट क्याम्पमा सहभागी हुन पाउने नियम बनाइएको छ ।
जिल्ला समन्वय समिति काठमाडाैंको आयोजनामा हुने प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ ।
प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय हातामा रहेको फुटबल मैदानमा सञ्चालन हुनेछ ।