चन्द्रागिरि नगरमा आठाैं प्रमुख प्रशासकीय अधिकृतले किन हाजिर गर्न पाएनन् ?

थानकोट ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सहसचिवमा बढुवा भएपछि फागुन १ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोही मन्त्रालयमा कार्यरत उपसचिव भुवनेश्वर लामिछानेलाई चन्द्रागिरि नगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गर्यो ।
१५ दिनअघि मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा गरेका ५० जना उपसचिवहरू मध्ये कतिपय नयाँ कार्यालयमा पदस्थापना भइसके पनि चन्द्रागिरि नगरपालिकामा भने प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरेका छैनन् ।
उसो त फागुन ५ बाटै चन्द्रागिरि नगरका प्रमुख प्रशासकीय अधिकृतको कक्षको मूल कोठाको ताला खोलिएको छैन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी तोकेरै चन्द्रागिरि नगरमा खटाएको भएपनि नगरका आठाैं प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी पाएका लामिछानेले मंगलबारसम्म जिम्मेवारी सम्हालेका छैनन् ।
थानकोट टाइम्सले यसबारेमा नगरप्रमुख गिरीसँग जिज्ञासा राख्दा उनले बाँकी रहेको करिब २ वर्षको पदावधिमा नगरबाट सम्पादन हुने कार्ययोजनालाई सार्थकता दिन नयाँ कर्मचारी प्रमुखबाट लिखित प्रतिबद्धता नै उनलाई हाजिरी गर्न दिइने आफ्नो पहिलो र अन्तिम बटम लाइन भएको बताए ।
नगरप्रमुखको रुपमा आफुले ६ जनासँग र राजनीतिक दलको प्रतिनिधिको रुपमा ७ जना प्रशासकीय अधिकृतसँग काम गरिसकेको जनाउँदै नगरप्रमुख गिरीले अब बाँकी रहेको कार्यकालमा नयाँ प्रशासकीय अधिकृतसँग काम गर्दा पदस्थापना अघि नै स्पष्ट मार्गचित्र हेरेर मात्रै नगरमा प्रवेश दिइने प्रतिक्रिया दिए ।
नगरप्रमुख गिरी हाल नगरमा कार्यान्वयनका चरणमा रहेका योजनाहरूको निरन्तारता तथा थप नयाँ नतिजामुखी कार्यक्रम एवं योजनाहरूको प्रतिबद्धता लिखित रुपमा नपाएसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृतको कक्षको साँचो हस्तान्तरण नगर्ने पक्षमा छन् ।
उसो त नगरप्रमुख घनश्याम गिरीले २०८१ फागुन ५ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको बिदाई कार्यक्रममा बोल्दै लिखित रुपमा कार्यसम्पादन करार नगरिकन नगरमा सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृतलाई पदस्थापन नदिइने घोषणा गरेका थिए (भिडिवोमा हेर्नुहोस् नगर प्रमुखको भनाई)।
यसअघि नगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका कर्मचारीलाई सिधै हाजिरी दिइएकोमा आठाैं प्रमुख प्रशासकीय अधिकृतलाई सो सुविधा नहुनुमा नगरप्रमुख घनश्याम गिरीको अडानका कारण सरुवा भएरपनि उपसचिव भुवनेश्वर लामिछानेको रमनापत्र चन्द्रागिरि आइनपुगेको हो । उसो त नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग चन्द्रागिरि नगरबाट अनाैपचारिक सम्पर्क भएको बुझिएको छ ।
चन्द्रागिरि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहँदा कार्यवाहकका रुपमा सुदनराज खनाले निमित्तको जिम्मेवारीमा छन् । प्रमुख प्रशासकीय अधिकृत रिक्त रहँदा नगरमा योजना भुक्तानीको फाइलको चाङ लागेको छ भने विभिन्न नीतिगत निर्णयमा असजहजता उत्पन्न भएको बताइएको छ ।
उता दक्षिणकाली नगरपालिकामा समेत चन्द्रागिरि नगरको झैं उल्झन छ । त्यहाँका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पनि सहसचिवमा बढुवा भएपछि रिक्त स्थानमा सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतले नगरप्रमुख मोहन बस्नेत अघि सारेका शर्तका कारण हाजिर गर्न पाएका छैनन् । यी दुवै स्थानीय तह नेपाली काँग्रेसले जितेका हुन्, बस्नेत पनि साताैं वर्ष मेयरकाे कुर्सीमा छन् ।
यी दुवै स्थानीय तहमा उपसचिव स्तरका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ ।