जिल्ला समन्वय समिति कप फुटबल प्रतियोगिता: खेलाडी चयन गर्दै चन्द्रागिरि नगरपालिका

थानकोट ।
फागुन २० गतेबाट सुरु हुने काठमाडाैं जिल्ला समन्वय समिति कप फुटबल प्रतियोगिताका लागि चन्द्रागिरि नगरपालिकाले खेलाडी छनोट गर्ने भएको छ ।
सोमबार एक सूचना जारी गर्दै नगरले प्रतियोगितामा सहभागिताका लागि फागुन १४ गते बुधबार खेलाडी चयन हुने बताएको हो । जसका लागि नैकापस्थित फुटबल मैदानमा खेलाडी छनोट कार्यक्रम राखिएको कार्यक्रम संयोजक दीपक श्रेष्ठले जानकारी दिए ।
सो छनोटका लागि इच्छुक खेलाडीले चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गरेको प्रमाणका रुपमा नागरिकता प्रमाणपत्रको सक्कल वा जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्ने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ ।
प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय हातामा रहेको फुटबल मैदानमा सञ्चालन हुनेछ ।