एपीएफ केपी ओली कपको क्वार्टरफाइनलमा, आज दुई हुने

थानकोट ।
आइतबारबाट सुरु भएको केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपीएफ क्लबले जित हात पारेको छ । जितसँगै एपीएफ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै एपीएफ क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
एपीएफले अब सेमिफाइनल प्रवेश गर्न ए डिभिजन लिग क्लब संकटासँग प्रतिस्पर्धा गर्नेछ ।
संकटा पहिलो खेलमा बाई पाउदै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिता अन्तर्गत आज सोमबार दुई खेल हुने तालिका छ । बिहान ११ः३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोश्रो खेलमा दिउँसो ३ बजे सोही मैदानमा केपी ओली एफसी र न्यूरोड टिमबीच हुने छ ।
प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११, दोस्रो टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघले जनाएको छ ।