प्रधानमन्त्री केपी ओलीको जन्मदिनको अवसरमा आजबाट केपी ओली कप फुटबल प्रतियोगिता हुँदै

थानकोट ।
केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा हुने प्रतियोगितामा ९ टिमले भाग लिँदैछन् ।
फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा आज विभागीय टिम एपीएफ र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ ।
प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी, भुटानको एससी ट्रान्सपोर्ट युनाइटेड, मछिन्द्र क्लब, एनआरटी क्लब, सङ्कटा क्लब र केपी ओली एफसी सहभागी छन् ।
प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल दशरथ रङ्गशालामा हुने छन् भने त्यसअघिका खेल एन्फा कम्प्लेक्समा हुने छन् ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक युवा सङ्घ नेपालले जनाएको छ ।